`

सोमालियाको समुद्री तटमा अल–शबाबको आक्रमणमा परी ३२ जनाको मृत्यु

Nepal One HD १९ साउन २०८१ १९:२५
विश्व

सोमालियाको राजधानी मोगादिशुको  समुद्र तटमा अल–शबाबले गरेको आत्मघाती आक्रमणमा परी ३२ जनाको मृत्यु हुनुका साथै कयौँ घाइते भएको प्रहरीले शनिबार जनाएको छ । अल–कायदासँग सम्बन्धित जिहादीले १७ वर्षदेखि सरकार विरुद्ध विद्रोह गर्दै आएका छन् । 

आक्रमण पछि सार्वजनिक गरिएको भिडियोमा सडक तथा समुद्र तटमा रगतले लतपतिएका शवहरू देखाइएको थियो ।


आक्रमणमा परी ३२ जनाभन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै ६३ जना घाइते भएको प्रहरी प्रवक्ता अब्दिफताह अदान हसनले पत्रकार सम्मेलनमा बताए ।  


आक्रमणकारीले नागरिकलाई लक्षित गरी गरेको विस्फोटले आक्रमणकारीको निशानामा सरकारी केन्द्र, सैनिक र अधिकारी मात्र नभई नागरिक पनि परेका छन् भन्ने प्रष्ट  भएकोे प्रहरी प्रवक्ता हसनले उल्लेख गरेका छन् ।


आक्रमणको जानकारी दिँदै प्रत्यक्षदर्शीले विस्फोट हुँदा घटनास्थलमा धेरै मानिसहरू रहेको बताएका छन् । 


अल–शबाबले मोगादिशुलगाथत देशको अन्य भागमा भएका बम विस्फोट र आक्रमणको जिम्मेवारी लिएको छ भने सरकारले इस्लामिक उग्रवादीहरू विरुद्ध आक्रमण गर्न दबाब दिइरहेको छ ।


प्रतिक्रिया