`

बाङ्ग्लादेशमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन, झडपमा ९० जनाको मृत्यु

Nepal One HD २१ साउन २०८१ ९:११
विश्व

बीबीसी । बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार कम्तीमा ९० जनाको मृत्यु भएको छ । मारिनेमा १३ जना प्रहरी रहेका बीबीसी बाङ्ग्लाले जनाएको छ।

सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरू मारिएका बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन । स्थिति नियन्त्रणमा लिन सरकारले साँझ ६ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरहरूका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्कन रोक लगाइएको छ । यसअघि लगाइएको कर्फ्यू आइतबार बिहान ६ बजेबाट राति नौ बजेसम्म खुकुलो बनाइएको थियो । 

आइतबारको प्रदर्शन हिंसात्मक बनेपछि पुनः कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन् । राजधानी ढाकामा मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट बन्द गरिएको छ । प्रदर्शनमा उत्रिएकाहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् ।

प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानहरूमा अश्रुग्याँस र रबरको गोली चलाएको छ । सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन् ।

केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको माग सहित सडकमा उत्रिएका हुन् ।

यसअघिको प्रदर्शनका क्रममा २०० जना भन्दा धेरैको ज्यान गएको थियो । आइतबारबाट सुरु भएको अवज्ञा आन्दोलनका क्रममा विद्यार्थीहरूले सार्वजनिक सवारी र कलकारखानाहरू बन्दको आह्वान समेत गरेका छन् ।


प्रतिक्रिया