`

मङ्कीपक्सका कारण अफ्रिकामा स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी

Nepal One HD ३० साउन २०८१ १०:४१
विश्व

बीबीसी । मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको एमपक्सका कारण त्यहाँको जनस्वास्थ्यसम्बन्धी निकायले महादेशभरि स्वास्थ्य आपतकाल घोषणा गर्नेबारे छलफल गरिरहेको छ । अहिले फैलिइरहेको एमपक्स नयाँ भेरिअन्टको भएका कारण यसअघिका भन्दा थप चिन्ताजनक देखिएको छ ।

विज्ञहरूले आफूहरूले अहिलेसम्म देखेको मध्येकै यो सबैभन्दा खतरनाक अवस्था भएको बताएका छन् । मङ्कीपक्स भाइरसको सङ्क्रमणका कारण एमपक्स हुने पर्छ। यो मानिसहरूलाई बिफर गराउने समूहकै भाइरसको एक प्रजाति हो। तर यो कम घातक भएको बताइन्छ ।

यो भाइरस सबैभन्दा पहिले जनावरहरूबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ । यो रोग प्रायः उष्णतटीय वर्षावन नजिक रहेका डीआर कङ्गोजस्ता अफ्रिकी देशहरूमा पाइन्छ ।

यो क्षेत्रमा वर्षेनी हजारौँ व्यक्तिमा यसको सङ्क्रमण हुने गरेको छ भने सयौँको मृत्यु हुने गरेको छ । पन्ध्र वर्ष मुनिका बालबालिका यसबाट सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् ।

यो भाइरसका प्रमुख दुई वटा प्रकार धेरै फैलिएका छन् । ‘क्लेड १’ मध्य अफ्रिकामा समुदायस्तरमा फैलिएको छ। ‘क्लेड १बी’ चाहिँ नयाँ प्रजाति हो र यो थप सङ्क्रामक छ।

पछिल्लो प्रकोप यही प्रजातिका कारण फैलिएको बताइएको छ । अफ्रिकाको द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार सन् २०२४ को आरम्भदेखि जुलाईको अन्त्यसम्ममा मात्रै १४ हजार ५०० जनाभन्दा धेरै यसबाट सङ्क्रमित भएका छन् ।

यो अवधिमा एमपक्सबाट ४५० जनाको मृत्यु भएको तथ्याङ्क छ। सन् २०२३ को यही अवधिसँग तुलना गरेर हेर्दा सङ्क्रमणमा १६० प्रतिशत र मृत्युदरमा १९ प्रतिशत वृद्धि भएको देखिएको छ ।

एमपक्सका ९६ प्रतिशत सङ्क्रमण डीआर कङ्गोमा भए पनि यसको सङ्क्रमण छिमेकी राष्ट्रहरू बुरुन्डी, केन्या, रवान्डा र युगान्डामा पनि फैलिइसकेको छ। तर ती देशहरूमा समुदाय स्तरमा यसको सङ्क्रमण देखिएको छैन ।

यसको कम गम्भीर र कम सङ्क्रामक रहेको भेरियन्ट ‘क्लेड ११’ ले सन् २०२२ मा पश्चिम अफ्रिकामा देखिएको थियो र विश्वव्यापीरूपमा फैलिएको थियो । सन् २०२३ को जुनमा नेपालमा पनि पहिलो पटक एक जना विदेशी महिलामा एमपक्स सङ्क्रमणको पुष्टि भएको थियो।


प्रतिक्रिया