रुससँगको युद्धमा एफ–१६ लडाकु विमान प्रयोग गर्दै युक्रेन


बीबीसी । युक्रेनले पश्चिमा देशहरूबाट पहिलो खेपमा पाएको एफ–१६ लडाकु विमानहरू प्रयोग गर्न लागेको छ । रुससँग युद्ध गरिरहेको युक्रेनले सन् २०२५ सम्ममा ६५ वटा त्यस्ता विमान प्राप्त गर्ने बताइएको छ ।
दुई वर्षदेखि युक्रेनी नेताहरूले पश्चिमा देशहरूसमक्ष संयुक्त राज्य अमेरिकामा निर्मित लडाकु विमान उपलब्ध गराउन अनुरोध गर्दै आएका थिए ।
यद्यपि त्यस्ता विमानहरू निकै कम सङ्ख्यामा उपलब्ध गराइएकाले तिनको प्रयोगबाट रुसविरुद्धको लडाइँमा युक्रेनलाई ठूलो फाइदा पुग्न नसक्ने चिन्ता व्यक्त हुने गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ मा रुसले आक्रमण थाल्नासाथ पश्चिमा राष्ट्रहरूसँग एफ–१६ सूपरसोनिक लडाकु विमान मागेका थिए।
उनी रुसी लडाकु विमानहरूलाई युक्रेनको आकाशमा छिर्न नदिन र आफ्नो सेनाको हवाई प्रभुत्व कायम राख्न चाहन्थे । बेल्जियम, डेन्मार्क, नेदरल्यान्ड्स र नर्वे गरी चार देशहरूले आफूले अमेरिकासँग किनेका केही एफ–१६ विमान दिने तत्परता देखाए ।
तर युक्रेनलाई उन्नत र शक्तिशाली अस्त्र उपलब्ध गराउँदा रुस आक्रोशित हुने हो कि भन्ने आशङ्कामा अमेरिकी राष्ट्रपति जो बाइडन हच्किए । सन् २०२३ मा आएर मात्रै अमेरिकाले युरोपेली देशहरूलाई लडाकु विमान पुनः निर्यात गर्न अनुमति दियो ।
ती चार देशले उन्नत एफ–३५ लडाकु ल्याउन थालेकाले आफूसँग भएका पुराना एफ–१६ लडाकु विमान युक्रेनलाई दिएका हुन् । पहिलो चरणमा युक्रेनले सन् २०२४ को जुलाईको अन्त्यमा १० वटा विमान पाएको छ । पश्चिमा देशहरूले युक्रेनलाई कुल ६५ वटा एफ–१६ लडाकु विमान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
तीमध्ये केही यसै वर्षको अन्त्यमा र बाँकी सन् २०२५ को अन्त्यसम्ममा पठाइने ठानिएको छ । युक्रेनलाई एफ–१६ उपलब्ध गराउने कार्यमा ढिलाइ भइरहेको विमान उपलब्ध नभएर भने होइन।
लन्डनस्थित थिङ्क ट्याङ्क रोयल यूनाइटिड सर्भिस इन्स्टिट्यूटसँग आबद्ध जस्टिन ब्रोङ्कका अनुसार युक्रेनमा लडाकु विमान चलाउन तालिमप्राप्त विमानचालक नभएका कारण ढिलाइ भइरहेको हो । युक्रेन पश्चिमा देशहरूले एकैचोटि १०० जनालाई त्यस्तो तालिम प्रदान गरिदिऊन् भन्ने चाहन्छ।
तर उनीहरूसँग त्यसो गर्न सक्ने क्षमता नै छैन । एफ–१६ लडाकु विमानलाई सन् १९७८ बाट प्रयोगमा ल्याइएको हो । यसले क्षेप्यास्त्र प्रहार गर्न र शत्रुको लडाकु विमानलाई अवरोध गर्न सक्छ। यसले शत्रुपक्षलाई अवरोध पुर्याएर स्थलयुद्धमा सहभागी आफ्नो पक्षका सैनिकहरूलाई निकटबाट सघाउन पनि सक्छ।