चिनियाँ नागरिकमाथि चीनकै लागि जासुसी गरेको आरोपमा अमेरिकामा मुद्दा दायर


बीबीसी । संयुक्त राज्य अमेरिकामा अभियोजनकर्ताहरूले चिनियाँ मूलका एक व्यक्तिविरुद्ध चीनका लागि गुप्तचरी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् ।
उनी अङ्गीकृत अमेरिकी नागरिक हुन् । ६७ वर्षीय युआन्जुन ताङलाई बुधवार न्यूयोर्क सिटीमा पक्राउ गरिएको अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ ।
युआन्जुनविरुद्ध उनी चिनियाँ जासुसी निकायको गुप्तचर भएको र उनले अमेरिकामा बस्ने चिनियाँ प्रजातान्त्रिक अभियानकर्मी तथा असन्तुष्ट व्यक्तिहरूबारे गुप्त सूचना सङ्कलन गर्ने अभियोग लगाइएको छ ।
उनले अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईलाई झुटो बयान दिएको आरोप पनि लगाएको छ । न्याय मन्त्रालयले ताङलाई ‘संयुक्त राज्य अमेरिकामा जनगणतन्त्र चीन (पीआरसी)का असूचीकृत गुप्तचरका रूपमा काम गरेको र षड्यन्त्र गरेको अनि एफबीआईलाई झुटो बयान दिएकोमा’ फौजदारी मुद्दा चलाइएको जनाएको छ ।
न्याय मन्त्रालयका अनुसार ताङले सन् २०१८ र २०२३ को बीचमा चीनको राज्य सुरक्षासम्बन्धी मन्त्रालय (एमएसएस) को आदेशमा बेइजिङको जासुसको रूपमा काम गरेका थिए । एमएसएस नागरिकहरूको जासुसी गर्ने चीनको मुख्य निकाय हो ।
ताङले उक्त निकायबाट नियमित रूपमा इमेल, ‘इन्क्रिप्टिड च्याट’ र अन्य तरिकाबाट निर्देशन प्राप्त गर्ने गरेको अमेरिकी अधिकारीहरूको दाबी छ। इन्क्रिप्टिड सन्देश पठाउने र पाउने व्यक्तिले मात्र हेर्न मिल्छ ।
अदालतमा प्रस्तुत दस्ताबेजका अनुसार ताङ चीन सरकारको विरोध गरेका कारण चीनमा जेल परेका थिए । सन् १९८९ को तिआन्आनमेन स्क्वायरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको आलोचना गर्दै भएको विरोधप्रदर्शनमा उनी सहभागी भएको सीबीएसले जनाएको छ ।
सन् २००२ तिर उनी चीनबाट भागेर ताइवान पुगे। पछि उनले अमेरिकामा राजनीतिक शरण पाएको न्याय मन्त्रालयले जनाएको छ ।