टेलिग्रामका सीइओ पावेल डुरोफ फ्रान्समा पक्राउ


बीबीसी । टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पाभेल डुरोफलाई फ्रान्सका प्रहरीले पेरिसभन्दा उत्तरमा अवस्थित एक विमानस्थलबाट पक्राउ गरेका छन् ।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार उनको निजी जेट लु बुर्च्छे विमानस्थलमा अवतरण गरेलगत्तै डुरोफलाई नियन्त्रणमा लिइएको थियो । अधिकारीहरूका अनुसार ३९ वर्षका उनलाई सन्देश आदानप्रदानका लागि प्रयोग हुने लोकप्रिय एपसँग सम्बन्धित कसुरमा पक्राउ गरिएको हो ।
फ्रान्सस्थित रुसी राजदूतावासले परिस्थिति प्रस्ट पार्नका लागि ‘तत्कालै कदम चालिरहेको’ रुसको तास समाचार संस्थाले जनाएको छ । डुरोफ आफ्नो निजी जेटमा यात्रा गरिरहेको फ्रान्सेली टेलिभिजन च्यानल टीएफ वानले आफ्नो वेबसाइटमा जनाएको छ ।
टेलिग्राम रुस, युक्रेन र पूर्व सोभियत सङ्घ देशहरूमा विशेष रूपमा लोकप्रिय रहेको छ । रुस युक्रेनबीच जारी युद्धमा सूचनाको प्रमुख स्रोत रहेको यस एपलाई किभए र मस्को दुवैतर्फका अधिकारीहरूले व्यापक रूपमा प्रयोग गर्ने गर्छन् ।
प्रयोगकर्ताको तथ्याङ्क दिन त्यसअघि अस्वीकार गरेका कारण सन् २०१८ मा उक्त एपमाथि रुसमा प्रतिबन्ध लगाइएको थियो । तर सन् २०२१ मा उक्त प्रतिबन्ध हटाइएको थियो ।
टेलिग्राम एउटा प्रमुख सामाजिक सञ्जाल हो। फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र वीच्याटपछी यसका प्रयोगकर्ता धेरै रहेको ठानिन्छ । डुरोफले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए ।
उनले आफ्नो सामाजिक सञ्जाल भीकन्ट्याक्टमा रहेका विपक्षीहरूका समूहहरूलाई बन्द गर्ने सरकारको माग कार्यान्वयन गर्न अस्वीकार गर्दै सन् २०१४ मा रुस छाडेका थिए ।
यस वर्षभित्र मासिक प्रयोगकर्ताको सङ्ख्या एक अर्ब पुर्याउने लक्ष्य राखेको टेलिग्रामले डुरोफलाई नियन्त्रणमा लिइएकोबारे केही प्रतिक्रिया दिएको छैन।