`

‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मत स्वीकृत

Nepal One HD ११ भदौ २०८१ १८:५२
राजनीति

काठमाडौँ, ११ भदौ : प्रतिनिधिसभाको बैठकले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बैठक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

अर्थमन्त्री पौडेलले उक्त ऐन संशोधन आवश्यक रहेको उल्लेख गर्दै आजसम्मको अभ्यासका क्रममा शेयर मार्केटको सन्दर्भमा प्रशस्त अनुभव आर्जन गरेको बताउनुभयो ।

“खासगरी बजार विस्तार हुँदैछ, विस्तारित बजारलाई स्थिर ढङ्गले बढाउनुपर्ने, प्रभावकारी नियमनको प्रबन्ध, शेयरबजारका सम्बन्धमा नयाँ अभ्यासलाई हाम्रो परिपेक्ष्यअनुसार लागू गर्न यो विधेयक जरुरी छ”, मन्त्री पौडेलले भन्नुभयो, “यो धितोपत्र संशोधन विधेयक प्रस्तुत भएको हो, बजारमा अराजकता, अन्ुशासनहीनताको क्रियाकलाप हुन नदिन र लगानीकर्ताहरूलाई पीडित हुन नदिनका लागि प्रभावकारी नियमनको प्रबन्ध गरिएको छ ।”

उक्त विधेयकमाथिको छलफलमा सांसदहरू विराजभक्त श्रेष्ठ, डा प्रकाशशरण महत, वासुदेव घिमिरे, जुलीकुमारी महतो, रोशन कार्की, स्वर्णिम वाग्ले, हरि ढकाल, राजेन्द्रकुमार केसी, सुमना श्रेष्ठ, प्रेम सुवाल, मनिष झा, माधव सापकोटा, नारायणी शर्मा, नागिना यादवहरूले छलफलमा भाग लिनुभएको थियो ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १२ दिनको १ बजे बस्नेछ ।


प्रतिक्रिया