`

बेलायतबाट इजरायल निर्यात हुने हतियारमा आंशिक प्रतिबन्ध

Nepal One HD १८ भदौ २०८१ १२:३३
विश्व

बीबीसी । बेलायतले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घनका लागि प्रयोग हुन सक्ने ‘स्पष्ट जोखिम’ देखिएको भन्दै इजरायललाई केही उपकरण र हातहतियार निर्यात गर्न रोकेको छ ।

ब्रिटेनका विदेशमन्त्री डेभिड ल्यामीले इजरायललाई निर्यातका लागि स्वीकृति दिइएका ३५० हतियारमध्ये ३० वटाको अनुमतिपत्र स्थगित गरिएको बताए। त्यसरी रोकिएका सामग्रीमा लडाकु विमान, हेलिकप्टर र ड्रोनका पार्टपुर्जा पनि छन् ।

इजरायलका रक्षामन्त्री योआभ गालान्टले ’एक्स’मा टिप्पणी गर्दै उक्त कदमप्रति गहिरो दुःख व्यक्त गरेका छन् भने विदेशमन्त्री इजरेल काट्सले त्यसबाट हमास र इरानलाई मात्रै फाइदा पुर्याउने बताएका छन्।

यद्यपि ब्रिटिश विदेशमन्त्रीले इजरायलको आत्मरक्षाको अधिकारलाई बेलायतले समर्थन गर्दै आएको जनाउँदै अहिलेको निलम्बन हतियार आपूर्तिमा ‘पूर्ण प्रतिबन्ध नभएको’ बताए ।

इजरायलले अन्तर्राष्ट्रिय कानुनअनुसार काम गरेको दाबी काट्सको छ । मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था एम्नेस्टी इन्टनेशनलका प्रमुख कार्यकारी साचा देशमुखले बेलायतको निर्णय ‘साँघुरो र छिद्रैछिद्रले भरिपूर्ण रहेको’ प्रतिक्रिया दिएका छन् ।

ब्रिटेनका विदेशमन्त्रीले कैयौँ सांसद, वकिल र अन्तर्राष्ट्रिय सङ्गठनहरूले इजरायललाई हतियार निर्यात गर्न ब्रिटेनले दिएका अनुमतिपत्रबारे प्रश्न उठाएको बताए ।

गाजामा आक्रमण गर्न इजरायलले प्रयोग गरिरहेका एफ ३५ लडाकु विमानका कतिपय पार्टपुर्जा बेलायतमा उत्पादन भइरहेका छन् । तर ती प्रतिबन्धमा परेका छैनन् । विश्वव्यापी कार्यक्रमअन्तर्गत ती विमानको उत्पादन भइरहेको छ । बेलायतले गर्ने प्रतिरक्षा सामग्रीको कुल निर्यातमध्ये जम्मा एक प्रतिशत मात्रै इजरायलमा हुने गर्छ ।


प्रतिक्रिया