`

‘विपन्न वर्गको पहुँचसम्म स्वास्थ्य सेवा पुर्‍याउँछु’ – प्रदीप पौडेल

Nepal One HD १ असोज २०८१ २१:१५
जीवनशैली/स्वास्थ्य

लेखनाथ (कास्की), १ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई विपन्न वर्गको पहुँचसम्म पुग्नेगरी आफूले काम गरिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा अयोजित विभिन्न शुभेच्छुक संस्थाका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भनिए पनि त्यो सेवा सर्वसाधारण जनताले प्राप्त गर्न सकेका छैनन् ।”

सर्वसाधारणको स्वास्थ्य सेवा पहुँचलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयले स्वास्थ्य बीमामार्फत पाँच लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले काम सुरु गरेको जानकारी दिँदै मन्त्री पौडेलले स्वास्थ्य बीमाको रकम एकद्वार प्रणालीमार्फत खर्च गरिने बताउनुभयो । स्वास्थ्य बीमाको रकम ४० प्रतिशतभन्दा वढी दुरुपयोग भएकाले त्यस्तो दुरुपयोग हुन नदिन आफूले एकद्वार प्रणालीमार्फत स्वास्थ्य बीमाको रकम खर्च गर्न लागिएको भनाइ उहाँको छ ।

“नेपाली जनतामा राजनीतिप्रति वितृष्णा बढेकाबेला कांग्रेसले नेतृत्व गरेको मन्त्रालयले जनताको हितमा कामगरी कांग्रेसप्रति जनताको आकर्षण बढाउन आवश्यक छ”, मन्त्री पौडेलले भन्नुभयो, “कांग्रेस कार्यकर्ता एकजुट भएर आउँदो निर्वाचनमा कांग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुपर्छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले कांग्रेसले जनताले महसुस गर्नेगरी आफ्ना सेवा दिनसक्यो भने आगामी निर्वाचनमा पहिलो पार्टी हुने बताउनुभयो । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले कांग्रेसलाई बलियो पार्टीका रुपमा विकास गर्न सबै नेता तथा कार्यकर्ता इमान्दार भएर सङ्गठन विस्तारमा जुट्न आवश्यक भएको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता एवं पूर्वकानुनमन्त्री यज्ञबहादुर थापा, देवराज चालिसे लगायतले कांग्रेस पार्टीलाई बलियो बनाएर लानुपर्नेमा चिन्ता व्यक्त गरेका थिए । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया