चितवन-२ मा फेरि उपचुनाव हुने अवस्था आउनसक्छः गोकुल बास्कोटा
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध व्यंग्य गर्दै चितवन क्षेत्र नम्बर २ मा फेरि उपचुनाव हुने दाबी गरेका छन् ।
संसदीय छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनी रूपमा परिचालन भएको र त्यसमा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन बुझाएपछि बुधबार सामाजिक संजालमार्फत बास्कोटाले चितवन २ मा फेरि चुनाव हुनसक्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने । कानुनविदका वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औं जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’
यसअघि पनि नागरिकता प्रकरणका कारण सांसद पद गुमाएपछि लामिछानेले पुनः उपचुनावमा प्रतिस्पर्धा गरी सांसद निर्वाचित भएका थिए ।
