`

गाजामा अनिकाल निम्तने राष्ट्रसंघको चेतावनी

Nepal One HD १ कार्तिक २०८१ ७:३९
विश्व

अमेरिकाले इजरायललाई गाजा क्षेत्रमा सहयोग वितरण सुधार गर्न चेतावनी दिएको एक दिनपछि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनआरडब्लुए) का प्रमुख फिलिप लाजारिनीले गाजामा अनिकालको जोखिमको चेतावनी दिएका छन् ।

उनले बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा आगामी जाडो र गाजाको जनसङ्ख्याको कमजोर प्रतिरोधात्मक प्रणालीतर्फ सङ्केत गर्दै भने, “आज वास्तविक जोखिम छ… हामी एउटा यस्तो अवस्थामा प्रवेश गर्छौं जहाँ अनिकाल वा गम्भीर कुपोषण दुर्भाग्यवश फेरि एक सम्भावना हुनेछ ।”

गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक आक्रमणले गाजाको विशाल क्षेत्रहरू तहसनहस भएका छन् । इजरायलले घेरिएको प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा कारबाहीलाई तीव्र पारेको छ । त्यहाँ संयुक्त राष्ट्रसङ्घले लाखौँ मानिसहरू फसेको चेतावनी दिएको छ ।

“यो एक प्रकारको बाँझो भूमि बनेको छ, यो लगभग बस्न योग्य छैन”, लाजारिनीले गाजाको मानवीय स्थितिको भयावह चित्रण गर्दै भने ।

उनले गाजामा सहायता वितरणको सम्बन्धमा विगत दुईदेखि तीन हप्तामा मङ्गलबारबाहेक उत्तरतर्फ कुनै पनि राहत सवारी साधन प्रवेश नगरेको जानकारी दिए ।

“दक्षिणमा राहत सवारी साधनहरूको प्रवेशमा ठूलो गिरावट आएको छ । त्यहाँ २० लाख मानिसका लागि औसतमा ५० देखि ६० मात्र राहत सवारी साधन छन्”, उनले भने ।

लाजिरानीले प्रवेश गर्न सफल भएका राहत सवारी साधनहरू ‘कानून र व्यवस्थाको पूर्ण भङ्ग भएका कारण’ लुटपाटको शिकार भएको जानकारी दिए । यद्यपि उनले राहत सवारी साधन तथा खाद्यान्नलाई प्रवेश गर्न दिइएको अवस्थामा गाजामा भोकमरीको सङ्कट टार्न सकिने बताए ।


प्रतिक्रिया