प्राज्ञिक भेलाद्वारा ७ बुँदे घोषणापत्र जारी


काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा गरिएको ‘प्राज्ञिक भेला –२०८१’ ले सात बुँदे घोषणापत्र जारी गरेको छ ।
यस्ता छन् सात बुँदे घोषणापत्र
१. हाल गठन भएका र भविष्यमा गठन हुने प्रदेश र पालिका स्तरका प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूको उद्देश्य, नामाकरण, गठन, कार्यविधि आदिका बिचमा एकरूपता कायम गर्ने र यसको समन्वय एवम् नीति निर्माणका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने ।
२. सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठान÷प्राज्ञिक संस्थाहरूका बिचको सम्बन्ध र समन्वयको नीति निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सरकारसमक्ष अनुरोध गर्ने ।
३.सङ्घीय स्तरमा वाङ्मय, ललितकला, नाट्य, सङ्गीत क्षेत्रका लागि तीनओटा प्रज्ञा–प्रतिष्ठान र विज्ञान प्रविधि क्षेत्रमा अलग्गै प्रज्ञा–प्रतिष्ठान रहेका तर प्रदेश र पालिका स्तरमा यी चारओटै विषय क्षेत्र समेटेर एउटै प्राज्ञिक संस्था निर्माण गर्नुपर्नेमा हाल गठन भएका प्रदेश र पालिका स्तरका प्रतिष्ठानहरूमा यी चारओटै विषय क्षेत्र समेटिएको पाइँदैन । यसर्थ विज्ञान प्रविधि क्षेत्रसमेत संस्कृतिका सबै क्षेत्र समेटेर प्राज्ञिक संस्थाको क्षेत्र विस्तार गर्ने ।
४. संस्कृतिकर्मी, स्रष्टा, कलाकारका साथै प्रतिष्ठान/प्राज्ञिक संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई सरकारी अस्पतालबाट स्वास्थ्योपचार सुविधा उपलब्ध गराउनका लागि पहल गर्ने ।
५. सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठानहरूका कार्यक्रम, अनुसन्धान तथा प्रकाशनहरूको जानकारीको आदानप्रदान गर्ने, तिनको अभिलेखन गर्ने र उही कामको पुनरावृत्ति नगर्ने ।
६. वाङ्मय, ललितकला, नाट्य, सङ्गीत क्षेत्रको अध्ययनलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने र प्रतिष्ठान गठन गर्न बाँकी रहेका प्रदेश तथा पालिकाहरूमा प्रतिष्ठान/प्राज्ञिक संरचना निर्माणका लागि आवश्यक पहल गर्ने ।
७. यसअघि २०८० साउन १३ गते पोखरामा भएको प्रज्ञा पोखरा घोषणा–पत्र २०८०, मिति २०८० पौष १३ गते भएको प्राज्ञिक भेला–काठमाडौँ घोषणापत्र –२०८०, मिति २०८१ साउन १२ गतेको प्राज्ञिक सम्मिलनका घोषणाको कार्यान्यवनका लागि आवश्यक पहल गर्ने ।
भेलामा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्राज्ञिक बहसले मुलुकको सफ्टपावर निर्माण गर्ने बताएका थिए । भेलाले प्रज्ञा–प्रतिष्ठानबिच विचार, संस्कृति र ज्ञानमा आधारित भइ छलफल भएको उनको भनाइ थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भेलाले सामाजिक रूपान्तरणमा हाम्रो कला, संस्कृतिलाई कसरी जोड्ने भन्ने विषयलाई उठाएको बताए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँगै गण्डकी प्रज्ञा–प्रतिष्ठान, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, आँबुखैरनी वाङ्मय परिषद्, भरतपुर प्रज्ञा–प्रतिष्ठान, सुनापति प्रज्ञा–प्रतिष्ठान, रत्ननगर वाङ्मय परिषद्, नीलकण्ठ प्रज्ञा–प्रतिष्ठान, माडी नगरपालिका, गल्याङ प्रज्ञा–प्रतिष्ठान, वालिङ प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान, बर्दघाट प्रज्ञा–प्रतिष्ठान, खजुरा प्रज्ञा–प्रतिष्ठान, भीरकोट प्रज्ञा–प्रतिष्ठान, महाङ्काल प्रज्ञा–प्रतिष्ठान, बिर्तामोड भाषा साहित्य कला प्रतिष्ठान, लालबन्दी नगर वाङ्मय परिषद्, कोहलपुर वाङ्मय प्रतिष्ठान, बेलवारी प्रज्ञा–प्रतिष्ठान, कपुरकोट कला, साहित्य संस्कृति परिषद्, कालीगण्डकी प्रज्ञा–प्रतिष्ठान, सुनवल नगर वाङ्मय कला प्रतिष्ठान, ठाकुरबाबा प्रज्ञा–प्रतिष्ठान, व्यास नगर प्रज्ञा–प्रतिष्ठान, कोन्ज्योसोम वाङ्मय प्रतिष्ठान, ललितपुर, मैथिली विकास कोषका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।