`

पाकिस्तान : लाहोरमा गम्भीर प्रदूषणका बीच जोखिमपूर्ण वायु गुणस्तर कायमै

Nepal One HD २१ पुष २०८१ २१:३४
विश्व

पाकिस्तानको लाहोर गम्भीर वायु प्रदूषणसँग जुझिरहेको र यसले विश्वव्यापी रूपमा सबैभन्दा खतरनाक सहरहरू मध्ये एकका रूपमा आफ्नो स्थिति कायम राखेको डनले रिपोर्ट गरेको छ ।

रिपोर्ट अनुसार शनिबार दिउँसो १ देखि २ बजेको बीचमा वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अधिकतम ४६५ सम्म पुग्दा शहरको वायु गुणस्तर चिन्ताजनक रूपमा खराब रह्यो ।

बढ्दो घामसँगै दिउँसो २ बजेपछि एक्युआईमा कमी आउन थालेपछि पनि राति ८ बजे सम्ममा यो सहर विश्वको चौथो सबैभन्दा प्रदूषित सहर बनेको थियो । 

शुक्रबार दिउँसो २ बजे एक्यूआई ६६५ सम्म पुगेसँगै लाहोर फेरि विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा रह्यो । हावामा पीएम२.५, पीएम१०, नाइट्रोजन डाइअक्साइड (एनओ२) र ओजोन (ओ३) जस्ता हानिकारक प्रदूषकहरूको मात्रा निरन्तर उच्च रहेकाले यसले बासिन्दाहरूको स्वास्थ्यमा उल्लेखनीय जोखिम सिर्जना गरेको छ ।

सहरका विभिन्न भागमा एक्युआईले चिन्ताजनक सङ्ख्या देखाएको डनले जनाएको छ । उदाहरणका लागि पाकिस्तान इन्जिनियरिङ सर्भिसेस (प्राइभेट) लिमिटेडले एक्युआई ३५४ रेकर्ड गरेको छ भने पावरजोन हेड अफिसले ३२५ रिपोर्ट गरेको छ । 

लाहोरस्थित अमेरिकी वाणिज्य दूतावास र ग्रान्ड चार्टर स्कुलसहित अन्य क्षेत्रमा पनि एक्युआई २८७ थियो । एक्युआई वर्गीकरणले ३०० भन्दा माथिको कुनै पनि रिडिङलाई खतरनाक मानिने सङ्केत गर्दछ । यसले जनसङ्ख्याका लागि गम्भीर स्वास्थ्य खतराहरूको सङ्केत दिन्छ । 

यसैबीच मौसम विभागले आइतबारका लागि चिसो र आंशिक बदली मौसमको पूर्वानुमान गरेको छ र लाहोरसहित पञ्जाबका धेरै जिल्लामा हल्का वर्षा र शीतको सम्भावना रहेको जनाएको छ ।  

विभिन्न सहरमा विशेष गरी दक्षिणी र मध्य क्षेत्रहरूमा बिहान र रातको समयमा घना कुहिरो लाग्ने अनुमान गरिएको डनले जनाएको छ । 

डनका अनुसार वरिष्ठ प्रान्तीय मन्त्री मरियम औरङ्गजेबले धुवाँ र वायु प्रदूषणसँग लड्न सरकारको प्रतिबद्धता दोहोर्याउनुभएको छ । उहाँले स्वच्छ र स्वस्थ वातावरण सुनिश्चित गर्नु प्राथमिकता रहेको र वायु प्रदूषण घटाउने प्रयासहरू कुनै छुट बिना जारी रहने कुरामा जोड दिनुभयो । 

प्रतिक्रिया