`

मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो

Nepal One HD २८ माघ २०८१ ६:५५
समाचार

भरतपुर (चितवन)-चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना) को मृत्युका विषयमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ । समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर अनुसन्धान अघि बढाइएको छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिनुभयो । “मकुनाको मृत्यु सम्बन्धमा शुक्रबार छानबिन समिति बनेको थियो । बीचमा बिदा भएकाले आईतबारदेखि काम सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “सोमबार स्थलगत अध्ययन गर्दैछौँ ।”

छानविन समितिले चितवनमा दुई दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने छ । “चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरिने छ,” सहसचिव डा पौडेलले भन्नुभयो । होटल व्यवसायीले पालेका हात्तीका कारण जङ्गली हात्ती मानव बस्तीमा बसेको गुनासो आएकाले होटल तथा हात्ती व्यवसायीलाई भेट्ने उहाँले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर यही माघ २३ गते मकुनाको मृत्यु भएको थियो । वन मन्त्रालयले सात दिनभित्र घटनाको विस्तृत विवरण तथा कारण पहिचान गर्न माघ २५ गते छानबिन समिति बनाएको थियो । सहसचिव डा पौडेलको नेतृत्वमा बनेको पाँच सदस्यीय छानबिन समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू–संरक्षण विभागका वन अधिकृत सवनम पाठक र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सक डा दिनेश शाह रहनुभएको छ ।

प्रतिक्रिया