पशुपतिनाथलाई गोवा राज्यका मन्त्री रानेद्वारा ३५ केजी चन्दन अर्पण

समाचार

काठमाडौँ- पशुपतिनाथलाई भारतको गोवा राज्यका स्वास्थ्य तथा सहरी विकास मन्त्री विश्वजीतप्रताप रानेले ३५ केजी चन्दन उपलब्ध गराउनुभएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवामार्फत उहाँले पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा चन्दन उपलब्ध गराउनुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।
सो अवसरमा परराष्ट्रमन्त्री राणाले नेपाल–भारतबीच सदियौँदेखि सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहँदै आएकाले त्यसलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो । गोवाका मन्त्री रानेले द्विपक्षीय सम्बन्ध विस्तार गरी नेपालको धार्मिक, सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । पशुपतिनाथका मूल अर्चक गणेश भट्टले रानेलाई विशेष पूजासमेत गराउनुभएको थियो । मूल अर्चक भट्टको पहलमा मन्त्री रानेले पशुपतिनाथलाई चन्दन चढाउनुभएको हो ।
गोवाका मन्त्री रानेले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेट गरी दुवै देशबीचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट