ट्रम्पद्वारा दिल्ली थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको घोषणा


बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको व्यापार असन्तुलन कम गर्न दिल्लीले थप अमेरिकी तेल तथा ग्यास खरिद गर्ने सहमतिको घोषणा गरेका छन् ।
‘उहाँहरूले हाम्रो धेरै तेल तथा ग्यास किन्दै हुनुहुन्छ। वहाँहरूलाई चाहिएको छ। र हामीसँग त्यो छ,’ वाशिङटनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने ।
मोदीले ‘भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न हामी तेल र ग्यासको व्यापारमा ध्यान केन्द्रित“ गर्नुका साथै परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा गरे ।
ट्रम्पले आफ्ना व्यापार साझेदारहरूले पारस्परिक रूपमा आयात शुल्क सामना गर्नुपर्ने बताइरहँदा मोदीको दुई दिने भ्रमण भएको हो । अमेरिकी आयातमा पहिल्यै ती देशले लगाएका भन्सारसँग मिल्ने गरी त्यस्ता जवाफी उपाय ट्रम्पले अघि सारेका छन् ।
व्यापारका विषयमा मतभेद रहँदा रहँदै पनि ट्रम्प र मोदीबीच वर्षौँको व्यक्तिगत सम्बन्ध पाइन्छ । ‘हाम्रो गजबको सम्बन्ध छ,’अमेरिकाको राजधानीमा बिहीवार मोदीलाई स्वागत गर्ने क्रममा ट्रम्पले भने ।
उनले अमेरिकाले भारतलाई सैन्य हार्डवेयरको बिक्री करोडौँ डलरले बढाउने र दिल्लीलाई एफ–३५ लडाकु जेट समेत दिने बताए ।
आप्रवासनको मुद्दा चर्को रूपमा उठेको थियो जसक्रममा ट्रम्पले भारतलाई हजारौँको सङ्ख्यामा कागजातविहीन भारतीयलाई आफ्नो देश फिर्ता लैजान भन्लान् भन्ने ठानिएको थियो । यसअघि मोदीले आफूहरूले अन्तरिक्ष, प्रविधि र अन्वेषणका बारेमा ट्रम्प निकट इलोन मस्कसँग कुरा गरेको बताएका थिए ।
मोदीले भने, ‘ट्रम्पले उनको पहिलो कार्यकालमा काम गरेभन्दा दोबर गतिमा काम गर्न सक्नेमा म दृढ रूपमा विश्वस्त छु।’
आफूहरूबीचको द्विपक्षीय वार्ताअघि ट्रम्पले आफ्ना सल्लाहकारहरूलाई संसारभरका आफ्ना व्यापार साझेदारहरूका लागि व्यापक रूपमा नयाँ आयात शुल्कको हिसाब गर्न आग्रह गरेका थिए जुन उनले अप्रिल १ बाट कार्यान्वयनमा आउन सक्ने बताए । मोदीलाई भेट्नुअघि रिपब्लिकन दलका तर्फबाट निर्वाचित राष्ट्रपतिले ‘हामीसँग निकै अनुचित प्रणाली थियो’ भने। ‘सबैले अमेरिकाको फाइदा उठाए।’