जयपृथ्वीबहादुर सिंह फुटबल प्रतियोगिता : सुदूरपश्चिम फाइनलमा प्रवेश


कैलाली-सुदूरपश्चिम प्रदेश जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को संयोजनमा जारीे प्रतियोगिताको पाचौँ दिनको पहिलो सेमिफाइनलमा कर्णाली प्रदेशलाई १–० ले हराउँदै सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो ।
सुदूरपश्चिमको जितका लागि खेलाडी श्याम विनाडीले निर्णायक गोल गरे । उत्कृष्ट खेल प्रदर्शन गरेका सुदूरपश्चिम प्रदेशका गोलरक्षक कुम्भ देउवा ‘म्यान अफ द म्याच’ भए । उनले नगद रु पाँच हजारसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको विजेताले रु पाँच लाख नगदसहित ट्रफी पाउने छ भने उपविजेताले रु दुई लाख ५० हजार नगदसहित ट्रफी मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, रु उत्कृष्ट गोलरक्षक रु १५ हजार, उत्कृष्टरक्षक रु १५ हजार, उत्कृष्ट फरवार्ड रु १५ हजार, सर्वाधिक गोलकर्ता रु १५ हजार, उदयमान खेलाडी रु १५ हजार, फेयर प्ले टिमलाई रु १५ हजार पुरस्कार दिइनेछ । प्रत्येक खेलको “म्यान अफ द म्याच” ले नगद रु पाँच हजारसहित ट्रफी दिइने छ । प्रतियोगितामा सात वटा प्रदेशका टिमको सहभागिता रहेको छ ।