`

‘हेल्लो काँशीराम’ सेन्सर पास, युनिभर्सल सर्टिफिकेट प्राप्त

Nepal One HD १७ चैत २०८१ २१:३०
मनोरञ्जन

काठमाडौं, चैत १७ – रिम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘हेल्लो काँशीराम’ सेन्सर पास भएको छ। आगामी जेठ २ गते बाट नेपालभरका हलहरूमा प्रदर्शन हुने यस फिल्मले केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको हो। अब यस फिल्मलाई हरेक वर्गका दर्शकले सजिलै हेर्न पाउनेछन्।

शनिबार गरिएको सेन्सरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक रिम विश्वकर्मा ले जानकारी दिए। कमेडी शैली मा निर्माण भएको यस फिल्मको कथाको रहस्य भने प्रदर्शनपछि मात्र दर्शकले थाहा पाउने उनले बताए। “सेन्सर बोर्डका सदस्यहरूले फिल्मलाई राम्रो रेटिङ दिनुभयो, जसले हामीलाई निकै खुसी बनाएको छ,” उनले थपे।

यसअघि सार्वजनिक गरिएको फिल्मको प्रचार सामग्रीले दर्शकमाझ उत्सुकता सिर्जना गरेको छ। विशेषगरी दिलीप रायमाझी ले बोका बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान तानेको छ।

फिल्मको निर्माण टोली

रेडलाइन फिल्मस् प्रा. लि. को ब्यानरमा निर्माण भएको ‘हेल्लो काँशीराम’ का लेखक तथा निर्देशक रिम विश्वकर्मा हुन्। फिल्मका निर्माता पी.बी. थापा हुन् भने सिनेमाटोग्राफी यम आले ले गरेका छन्। करिब डेढ करोड को लागतमा बनेको फिल्मलाई मित्र डी. गुरुङ ले सम्पादन तथा रंग संयोजन गरेका छन्।

कलाकारहरूको दमदार उपस्थिति

फिल्ममा दिलीप रायमाझी सँगै सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल लगायतका वरिष्ठ कलाकारहरू देखिनेछन्। साथै, चर्चित हाँस्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्की को विशेष भूमिका रहेको छ। नेपाली फिल्म उद्योगकी सफल अभिनेत्री भएकाले उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने निर्देशक विश्वकर्माले बताएका छन्।


प्रतिक्रिया