`

रेशम चौधरी पक्राउमा सरकारको कुनै पूर्वाग्रह नरहेको गृहमन्त्रीको भनाई

Nepal One HD २५ वैशाख २०८२ १७:२४
प्रमुख खबर

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउमा कुनै पूर्वाग्रह नभएको बताएको छ ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले अदालतबाट आएको पत्र कार्यान्वयन मात्र गरेको तर पत्र झुटो भएको थाहा भएपछि तत्कालै रिहा गरिएको बताए ।

उनले भने, ‘यस घटनामा सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको अनुरोध गर्न चाहन्छु । भविष्यमा यस्ता घटना नदोहोरिनको लागि सबैलाई सचेत र सजग बनाएको छ। यस घटनाले रेशम चौधरी र परिवारप्रति भएको अफ्ठ्यारोप्रति दुःख व्यक्त गर्न चाहन्छु ।’

गृहमन्त्री लेखकले वैशाख १७ गते पक्राउको पत्र लिएर सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी प्रधान कार्यालय पुगेको र कानुन कार्यान्वयन गरेको प्रहरी महानिरीक्षकले आफूलाई जानकारी गराएको उल्लेख गरे ।

परिचयपत्रसहित अदालतको आदेश कार्यान्वयन गर्न आएको बताएको र सोहीअनुसार प्रहरीले चौधरीलाई पक्राउ गरिएको बताए । उनले अनधिकृत पत्र लेखेका विष्टमाथि अनुुसन्धान भइरहेको जानकारी दिए ।


प्रतिक्रिया