गृह मन्त्रालयले भन्यो-भिजिट भिसा प्रकरणको सत्यतथ्य बाहिर ल्याउँछौं


काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसामा अवैध रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको बताएको छ ।
शनिबार विज्ञप्ति जारी गरी मन्त्रालयले भिजिट भिसासम्बन्धी प्रकरणलाई लिएर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत मन्त्रालयको संलग्नता रहेको भनी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले ती समाचारहरू तथ्यहीन, भ्रमपूर्ण र आधारहीन भएको उल्लेख गरेको छ ।
मन्त्रालयले सत्यतथ्यमा आधारित समाचार प्रकाशन गर्न पनि सञ्चारमाध्यमलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘शान्ति, सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील छ। मन्त्रालय सबै प्रकारका अनियमितता तथा आपराधिक घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको छ।’
मन्त्रालयले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित घटनाको अनुसन्धान गम्भीर रूपमा भइरहेको जनाएको छ । उसले सत्यतथ्य बाहिर आउने क्रम जारी रहेको पनि जानकारी दिएको छ। मन्त्रालयले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएको छ।