स्पेनमा अत्यधिक गर्मी र डढेलोको जोखिम बढ्दो


स्पेनमा गर्मीको लहर, डढेलो, आँधी र बाढीजस्ता चरम मौसम घटनाहरू बारम्बार र उग्र रूपमा देखापर्न थालेका छन्। यसले जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने भन्दै एक जलवायु विज्ञले सबैलाई सतर्क रहन आग्रह गरेका छन्।
बार्सिलोना विश्वविद्यालयका भौतिक भूगोलका प्राध्यापक खाभिए मार्टिन–भिदेले भन्नुभयो, “स्पेनी जनताले अहिलेको बिग्रँदो मौसम अवस्थासँग जुध्न मनोबल र तयारी दुवै आवश्यक छ।“
जुन महिनाको अन्त्य र जुलाईको सुरुमा स्पेनका धेरै स्थानहरूमा तापक्रम ४२ डिग्रीसम्म पुगेको थियो। यसै साता स्पेनको मौसम विभागले केही भागहरूमा भारी वर्षा, हावाहुरी र डुबानको चेतावनी दिएको छ।
प्राध्यापक मार्टिन–भिदेले बताएअनुसार यस्ता अत्यधिक तापक्रमले डढेलोको खतरा निकै बढाउँछ। यसै साता उत्तरपूर्वी कातालोनिया क्षेत्रमा मात्रै तीन हजार तीन सय हेक्टर जमिन जलेको छ। केही दिनअघिमात्रै सोही क्षेत्रमा ६ हजार हेक्टर जमिन, जसमा धेरैजसो खेतीयोग्य जमिन थियो, आगोले नष्ट गरेको थियो।
“यस्ता डढेलो अत्यधिक गर्मीमा सजिलै फैलिन सक्छन्,” उहाँले भन्नुभयो, “हामीले पहिले नै कातालोनियामा ठूलो आगलागी देखिसकेका छौं र यो गर्मीभरि यस्ता भयावह दृश्य दोहोरिन सक्ने सम्भावना छ।”
उहाँलाई थप्नुभयो, “अत्यधिक तापक्रमपछि डढेलो, डुबान, आँधी र हावाहुरीजस्ता घटनाहरू अब प्रत्येक वर्ष झनै सामान्य जस्तै हुनेछन्।”
प्राध्यापकले जलवायु सम्बन्धी अध्ययनबाट थाहा पाइएको भन्दै भन्नुभयो, “आउँदा वर्षहरूमा तापक्रम अझै बढ्नेछ। यसले गर्दा गर्मीका यस्ता लहरहरू अझ चाँडै सुरु हुने, बढी दिनसम्म चल्ने र अझ तीव्र हुने छन्।”
उहाँ विशेष गरी वृद्ध व्यक्तिहरूका लागि गर्मीको असर खतरनाक हुने बताउँछन्। स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार, गएको गर्मीमा गर्मीसम्बन्धी समस्याका कारण दुई हजार २० जनाको ज्यान गएको थियो, जसमा ९० प्रतिशत ७५ वर्षभन्दा माथिका थिए।
स्पेनमा बढ्दो तापक्रमका कारण डढेलो, आँधी, बाढी र अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएको छ। यस्ता चरम मौसम घटनाहरू वर्षेनी झनै सामान्य बन्ने संकेत देखिन्छ। त्यसैले सर्वसाधारणदेखि राज्य निकायसम्म सबैले जलवायुको जोखिमप्रति सजग भई समयमै पूर्वतयारी गर्न विज्ञहरूले सुझाव दिएका छन्।