`

विश्व सम्पदा सूचीमा अफ्रिकाका दुई ऐतिहासिक स्थल थपिए

Nepal One HD २८ असार २०८२ ६:३८
विश्व

संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्थाले (युनेस्को) शुक्रबार ‘क्यामरुन’ र ‘मलावीका’ दुई सांस्कृतिक स्थलहरूलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ । अफ्रिकी महादेशको प्रतिनिधित्व बढाउने लक्ष्य युनेस्कोको प्राथमिकतामा रहँदै आएको छ ।

क्यामरुनको उत्तर क्षेत्रको मण्डारा पर्वत क्षेत्रमा पर्ने ‘डिय–गिड–बिय’ भू–दृश्यलाई सूचीमा समावेश गरिएको हो । यो स्थल १२ औँदेखि १७ औँ शताब्दीसम्मको बीचमा विकास भएको अनुमान गरिएको छ । यहाँ पुरातात्त्विक अवशेष, सिँचाइका लागि बनाइएका पाखेबारी तथा धार्मिक स्थलहरू रहेका छन् ।
मलावीबाट समावेश गरिएको स्थल भने ‘मुलाञ्जे’ नामक पहाडी शृङ्खला हो, जुन देशको दक्षिणी भागमा अवस्थित छ । स्थानीय समुदायले यस स्थानलाई देवी–देवता, आत्मा र पुर्खाहरूको वासस्थलका रूपमा पवित्र मान्दै आएका छन् ।

संस्थाकी प्रमुख अड्री आजुले अफ्रिकी महादेशलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउँदै आउनुभएको छ । यद्यपि, यो महादेश अझै पनि विश्व सम्पदा सूचीमा कम प्रतिनिधित्व भएको क्षेत्रका रूपमा रहिरहेको छ ।

विश्व सम्पदा सूचीमा कुनै स्थलको नाम समावेश भएपछि त्यस स्थानमा पर्यटक आगमन बढ्ने सम्भावना रहन्छ, साथै संरक्षणका लागि आर्थिक सहायता प्राप्त हुने अवसर पनि वृद्धि हुन्छ । यस्तो सूचीमा परेका स्थलहरूलाई प्रदूषण, द्वन्द्व र बेवास्ता जस्ता जोखिमबाट जोगाउन संरक्षणको व्यवस्था गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *