`

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

Nepal One HD ४ साउन २०८२ २०:३९
जीवनशैली/स्वास्थ्य

चितवन, ४ साउनः यहाँको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । बर्सात सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो ।

अस्पतालका आकस्मिक कक्ष इन्चार्ज अलाउद्दिन मियाका अनुसार वैशाख महिनामा ६० जनाको उपचार गरिएकामा जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । जसमध्ये पाँच जना विषालु सर्पले टोकेका बिरामी हुन् ।

यसैगरी, असार महिनामा १२६ सर्पदंशका बिरामीको उपचार गरिएको छ । जसमा नौ जना विषालु सर्पले टोकेका बिरामी रहेको मियाले जानकारी दिनुभयो । यस अस्पतालमा चितवनबाहेक मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) तनहुँ, गोरखा, लम्जुङदेखिका बिरामी आउने गरेका छन् । अस्पतालमा आएकालाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर लक्षणअनुसार उपचार गर्ने गरिएको छ ।

विषालुअन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपरलगायत पर्दछन् । करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नसालाई असर पु¥याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने गरेको चिकित्सकले बताउने गरेका छन् ।

विषालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमा नै राखेर उपचार गरिँदै आइएको अस्पतालका आकस्मिक कक्ष इन्चार्ज मियाले बताउनुभयो । हाल यहाँ दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *