`

एमाले केन्द्रीय कमिटी बैठकः विधान संशोधनसहित आठबुँदे प्रस्ताव पारित

Nepal One HD ७ साउन २०८२ १२:२०
नेकपा एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावलाई सुझावसहित सर्वसम्मतिले पारित गरको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा यही साउन ५ र ६ गते बसेको बैठकले मुलुकको समसामयिक राजनीतिक गतिविधि, सरकारको प्रभावकारिता, विधान महाधिवेसनलगायत समसामयिक विषयमा आठबुँदे प्रस्ताव पारित गरको छ ।

यसैगरी, बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विशेषगरी विधान संशोधनसम्बन्धी प्रस्तावमा घनिभूत छलफल भएको केन्द्रीय कमिटीको बैठकमा २६४ जना सदस्यहरूले आ–आफ्नो धारणा राखेको र बैठकले आठबुँदे प्रस्ताव पारित गरेको जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मुलुकको समसामयिक राजनीतिक विकासक्रम, पार्टीलाई अझ सशक्त र लोकप्रिय बनाउने, विधान महाधिवेशनलगायत विषयमा धारणा राखेको थियो ।

यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा डा पुष्प कँडेल र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आ–आफ्नो आयोगको प्रतिवेदन प्रस्तुत गरेको थियो ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको थियो भने महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक कामका बारेमा जानकारी गराएको थियो ।

केन्द्रीय कमिटीका सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समावेश गरी विधान संशोधनसम्बन्धी प्रस्ताव पार्टीको प्रदेश र जिल्ला कमिटीहरूमा थप सुझावका लागि पठाइने निर्णय भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

सो बैठकले एमाले र नेपाली कांग्रेसबीच सम्पन्न सातबुँदे सहमतिको जगमा उभिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले बलियो राजनीतिक स्थायित्वको आधार तयार गरी सुशासनसहित देश र जनताका पक्षमा काम गरको ठहर गरेको छ ।

वर्तमान सत्तासहकार्यलाई अझ सुदृढ गर्दैै सातबुँदे सहमति कार्यान्वयनमा दृढताका साथ लाग्न र सरकारलाई अझ प्रभावकारी एवं गतिका साथ अगाडि बढाउन बैठकले आह्वान गरेको छ । “महत्वपूर्ण नीतिगत सुधारसहित अर्थतन्त्रलाई लयमा फर्काइएको छ । निजी क्षेत्रमा भरोसा जगाउने र बाह्य लगानी अभिवृद्धि गर्ने काम गरिएको छ । अवरुद्ध विकास निर्माणका कामहरूले गति लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उच्च प्राथमिकताका साथ दैलेखमा सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खनन निष्कर्षमा पुगेको छ,” एमालेले जारी गरेको प्रस्तावमा उल्लेख छ ।

एमालेले दैलेखमा ५० वर्षसम्मको नेपालको आवश्यकता पूर्ति गर्नसक्ने मिथेन ग्यास भण्डार रहेको तथ्य सार्वजनिक हुनु निकै उत्साहपूर्ण विषय भएको बताएको छ ।

बाह्य सम्बन्धमा थप अनुकूलता सिर्जना गर्दै अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति, ‘एजेन्डा’ र भूमिकालाई प्रभावकारी बनाउन वर्तमान सरकार सफल भएको बैठकले निष्कर्ष निकालेको छ ।

प्रस्तावमा भ्रष्टाचार र अनियमितताप्रति निःसर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा पार्टीको आधारभूत मान्यता रहँदै आएको र यसै मान्यतामा उभिएर भ्रष्टाचार विरुद्धका कानुनहरू निर्माण गर्न, नियमनकारी निकायहरूलाई प्रभावकारी बनाउन र समाजमा सुशासनका पक्षमा जनचेतना अभिवृद्धि गर्न पार्टी निरन्तर क्रियाशील रहँदै आएको बताइएको छ ।

बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धासुमन अर्पण गर्दछ र उनको आदर्शलाई पछ्याउँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ, एकताबद्ध र निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने सङ्कल्प गरेको छ ।

यसैगरी, जलवायु अनुकूलका कार्यक्रमहरुको विस्तार र चुरे क्षेत्रको संरक्षण एवं पुनर्भरणका विशेष कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्दै तराई मधेशको दीर्घकालीन समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

केन्द्रीय कमिटीको बैठकले नेपाली किसानहरूले भोग्नुपरेका समस्याहरूको तदारुकताका साथ समाधान गर्न, किसानको जीवनस्तर माथि उठाउन र खाद्य सुरक्षा प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

यसैगरी, यही असार २४ गतेको अविरल वर्षा र बाढीले रसुवामा जनधनको ठूलो क्षति पु¥याएकाले पीडितहरूलाई राहत र ध्वस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै मितेरी पुल यथाशीघ्र निर्माणका लागि मित्रराष्ट्र चीनसँग आवश्यक समन्वय र कूटनीतिक पहलका लागि बैठकले आह्वान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *