`

लिबियाको त्रिपोली क्षेत्रबाट १ हजार ५ सय आप्रवासी कामदार पक्राउ

Nepal One HD १० साउन २०८२ २०:३१
विश्व

एएफपी । लिबियाली अधिकारीहरूले राजधानी त्रिपोलीको पूर्वमा रहेको एक बस्तीमा छापा मारी शनिबार करिब १ हजार ५ सय कागजातविहीन आप्रवासी कामदारहरूलाई पक्राउ गरेका छन्। शनिवारको अनुगमनमा कागजातविहीन विदेशी कामदार बस्ने घरहरू फेला परेका हुन् । लिबियामा सन् २०११ मा नेटो समर्थित विद्रोहमा लामो समयदेखि सत्तामा रहेका मोआमेर कद्दाफीलाई सत्ताच्युत गरी हत्या गरिएपछि लिबिया द्वन्द्वको चपेटामा परेको छ ।

त्रिपोलीस्थित प्रधानमन्त्री अब्देल हामिद देबेइबाको सरकार र पूर्वमा रहेको प्रतिद्वन्द्वी प्रशासनबीच देश विभाजित छ । इटालीबाट करिब ३०० किलोमिटर टाढा रहेको लिबिया समुद्रमा आफ्नो ज्यानको जोखिम मोलेर युरोप पुग्ने हजारौँ आप्रवासीका लागि प्रमुख ‘सुरुवात विन्दु’ बनेको छ ।

त्रिपोलीको पूर्वतिर लक्षित उक्त क्षेत्रमा अग्ला पर्खाल र ठूलो ढोकाले घेरिएको अस्थायी शिविरहरू रहेका छन् । अधिकांश इजिप्ट र उप-सहारा अफ्रिकी मुलुकका सयौँ आप्रवासीहरू त्यहाँ बसोबास गर्ने गरेको पाइएको अधिकारीहरूले बताएका छन् ।
भवन परिसरभित्र एउटा सानो किराना पसल, एउटा मार्सु पसल र तरकारी बिक्रेताहरूसमेत रहेका देखिन्थ्यो ।

लिबियाली श्रममन्त्रीले भने, “उक्त स्थानमा ‘अनियमित आवास भेटिएको छ । त्यहाँ स्वास्थ्य र कार्यस्थल सुरक्षाको लागि आधारभूत आवश्यकताहरू पूरा गर्न असम्भव हुन्छ ।”“पक्राउ परेका आप्रवासी कामदारलाई ‘गैर–कानुनी आप्रवासी नियन्त्रण अधिकारी’ले सञ्चालन गरेको शिविरमा स्थानान्तरण गरिनेछ र उनीहरूविरुद्ध राष्ट्रिय नियमअनुसार कानुनी कारबाही अघि बढाइनेछ,” उनले भने । ती आप्रवासीलाई तत्काल देश निकाला गर्ने वा नगर्ने भन्ने स्पष्ट भइसकेको छैन ।

यसै महिनाको सुरुमा ग्रिस, इटाली र माल्टाका एक आयुक्त र मन्त्रीहरू उत्तर अफ्रिकी देशबाट अनियमित आप्रवासनबारे छलफल गर्न लिबिया पुगेका थिए ।इटालियाली तटमा पुग्नुअघि अन्तर्राष्ट्रिय जल क्षेत्रमा समेत लिबियाली अधिकारीहरूले रोकेका आप्रवासीहरूलाई जबरजस्ती लिबिया फर्काइएको छ र संयुक्त राष्ट्रसंघले बारम्बार निन्दा गर्ने कठोर परिस्थितिमा हिरासतमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *