`

लुम्बिनी प्रदेश धार्मिक र प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण :मुख्यमन्त्री आचार्य

Nepal One HD १० साउन २०८२ २०:३३
राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो प्रदेश धार्मिक र प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको बताउनुभएको छ ।
बर्दघाट सुस्ता-पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१० खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सवलाई आज सम्बोधन गर्दै उहाँले यहाँका धार्मिक र प्राकृतिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्पष्ट दृष्टिकोण बनाएको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो,“यो भूमि आफैँमा पवित्र छ । तपोभूमि हो । संसारमा अन्यत्र नपाइने सालिग्राम यही कालीगण्डकी नदीमा पाइन्छ । यस्तो अद्वितीय धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थललाई विश्वसामु चिनाउने सम्भावना लुम्बिनी प्रदेशमा छ ।”

उहाँले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थलसहित, संस्कृति व्याकरणका प्रवर्तक पाणिनि ऋषिको जन्मभूमिका रूपमा समेत परिचित गराउँदै प्रदेशको सांस्कृतिक गौरवलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री आचार्यले धार्मिक आस्थासँग जोडिएका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै भन्नुभयो, “धार्मिक तथा प्राकृतिक रूपमा पर्यटकीय स्थलहरूको विकासका लागि प्रदेश सरकारले योजनाबद्ध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । थप नयाँ योजना बनाएर ती क्षेत्रको विकासमा अघि बढ्ने तयारीमा छौँ ।”

उहाँले समाजसेवाका लागि सबै नागरिकलाई कम्तीमा आफ्नो आम्दानीको १० प्रतिशत दान, पुण्य र पवित्र कार्यमा लगानी गर्नसमेत आह्वान गर्नुभयो । “ऋण खोजेर दान गर्ने होइन, तर कमाइको केही हिस्सा समाजसेवामा खर्च गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले उत्तरबाहिनी गङ्गा कार्यक्रममार्फत धार्मिक नदी क्षेत्रको संरक्षण, व्यवस्थापन र आध्यात्मिक पर्यटन प्रवर्द्धनमा महत्त्पूर्ण योगदान पुग्ने विश्व व्यक्त गर्नुभयो । खखरीबारी क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताउँदै उहाँले यसलाई महत्त्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित गर्नेगरी काम गरिने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *