सुदुरपश्चिममा छाउपडी प्रथाले महिलाहरुमाथि निमत्याउने जोखिम आखिर कहिले सम्म ?

सुदुरपश्चिम । सुदुरपश्चिम प्रदेश नेपालको एक प्रमुख पहाडी क्षेत्र हो, जहाँ परम्परागत जनजीवन र सांस्कृतिक अभ्यासहरू अझै पनि कायमै रहेका छन्। तीमध्ये, छाउगोठ (छाउपडी) परम्परा एउटा संवेदनशील र जटिल सामाजिक र सांस्कृतिक अभ्यास हो।
जहाँ छाउपडी प्रथाका कारण महिलाहरुको ज्यान जोखिममा पर्दै गईरहेको छ । सुदुरपश्चिम प्रदेशमा रहेका ९ वटा जिल्ला मध्यमा सबै भन्दा छाउपडी प्रथाको त्रास भने अछाममा देखिएको छ, र छाउपडीका कारण ज्यान गुमाउनेहरुमा पनि त्यही बढि देखिन्छन् ।
महिनावारी भएको समयमा महिलाहरुलाई घर बाहिर छाउगोठ बनाएर राख्ने विकृतिविरुद्ध त्यँहा विद्रोह सुरु भएको दुई दशक बितिसक्यो, तर पनि छाउगोठ राख्ने प्रचलन पूर्ण रुपमा हट्न सकेको छैन् ।
असुरक्षित तरिकाले महिला तथा किशोरिहरु छाउगोठमा बस्दा ज्यान गुमाएका घटना बाहिर आउँदा यस विषयमा बसह हुने गरेको छ । हालै मात्रै अछामको हात्तीकोटबाट बसाईसरी कञ्चनपुरको कृष्णपुर नगरपालिका-१, निगाली बस्दै आएकी २८ वर्षीय कमला दमाईको गत असार २८ गते छाउगोठमा सुतेको वेला सर्पले डसेर मृत्युभएको थियो । जुन घटनापछि छाउगोठ र छाउपडीको विषयमा फेरि एक पटक गम्भिर बहस सुरु भएको छ ।
यो दु:खद घटनापछि कृष्णपुर नगरपालिकाले आफ्नो पालिका भित्र रहेका छाउगोठ भत्काउने अभियान सुरु गरेको छ । नगरप्रमुख हेमराज ओझाका अनुसार नगरपालिकाभित्र केही छाउगोठ छन्, भन्ने जानकारी थियो । यस्लाई स्थानीयहरुले संस्कृति जस्तै बनाउदै आएका कारण स्थानीय तहले कडाईका साथ अनुगमन तथा कारबाहि गर्न नसकेको उनको भनाई छ ।
त्यसो त विगत देखी नै छाउपडीका विषयमा जनचेतना फैलाउने अभियानहरु चल्दै आएका छन् । कतिपय ठाउँहरुमा त छाउगोठ नै भत्काईएका थिए, भने फेरि छाउगोठ बनाएर बसेको खण्डमा स्थानीय तहले दिने सेवासुविधा कटौती हुने चेतावनी समेत दिईएको थियो । तर पनि यो प्रथालाई जरैबाट हटाउन स्थानीय सरकार सफल हुन सकेको छैन् ।
गत वर्षमात्रै कृष्णपुर नगरपालिका वडा.न.-१ को कुमगाडा क्षेत्रमा ४ वटा छाउगोठ भत्कार्ईएको थियो, तर कमला दमाईको घटना निकै नै दुखद रहेका मेयरका भनाई छ ।
मेयर ओझाका अनुसार छाउगोठले निमत्याउने जोखिम सर्पदंशमात्रै होईनन् बलात्कार जस्ता जघन्य अपराध समेत रहेका छन् । विषेश गरि छाउगोठमा यस्ता घटना हुनुको मुख्य कारण ढोका नहुनु, घर भन्दा पर माटोले लिपेर राखेको कुनै पनि सुरक्षा नअपनाएरै बनाईएको छाप्रो हो । समाजमा लागुऔषध तथा दुव्र्यसन जस्ता विकृति बढनुले पनि यस्ता घटनाहरु निमत्याएको छ । यस्तो अवस्थामा छाउगोठमा बस्ने महिलाहरु नै हिंसाको सिकार हुने ठूलो जोखिम बढेको छ ।
रोजगारीको सिलसिलामा कमला आफ्नो श्रिमान सँगै भारतमा बस्दै आएकी थिईन् । उनी केहि महिना अघि मात्रै कञ्चनपुर आएकी थिएइन् । कञ्चनपुरमा उनले भारतमै कमाएको पैसाबाट एक तले पक्की घर निर्माण गरेकी थिईन् । तर बस्नका लागि बनाएको पक्की घर छोडी छाउगोठमा बस्दा उनको ज्यान गएको हो । उनको परिवार अछामबाट बसाईसरेर आएको हुनाले पनि महिनावारी भएको समयमा घर भित्र बसे देवि देउता रिसाउछन् भन्ने विश्वास रहदै आएको थियो, जुन प्रथाले उनको अकालमै ज्यान लियो, दुई सन्तानको बिच्चली बनायो । यो घटना हुँदा उनका श्रिमान् भारमै रहेका थिए । घरमा उनी र उनका दुई सन्तान मात्रै थिए । उनी आफ्नो छोराहरु पढाउने भनेर घरमै बसेकी थिईन् ।

तर उनका लागी असार २८ को रात नै यो धर्तिमा अन्तिम बन्न पुग्यो, आफ्ना सन्तान पढाएर ठूलो मान्छे बनाउने सपना चकनाचुर भयो । राती छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले कमलाको गालामा डस्यो । आफूलाई सर्पले डसेको थाहा पाएपछि उनले आफ्न्तलाई जानकारी गराएकी थिईन्, र राती नै उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लगिएको थियो । तर उनको उपचारकै क्रममा ज्यान गयो ।
छाउगोठ (छाउपडी) के हो ?
छाउगोठ भनेको महिलाहरु महिनावारी भएको समयमा घर भन्दा पर बस्नका लागि बनाईएको एक माटोको छाप्रो हो । जहाँ महिलाहरु महिनावारी भएको बेला केही समयसम्म अलग स्थानमा बस्न, बाध्य बनाउने परम्परा हो। यस परम्पराका अनुसार, महिनावारी भएको महिलालाई अपवित्र मानिन्छ र उनीहरुलाई घरको मुख्य भागबाट अलग राखिन्छ।
परम्परागत अभ्यास :-
अलग स्थान (छाउगोठ) – महिनावारी भएको महिलालाई घरको मुख्य भागबाट अलग गरी निश्चित ठाउँमा राखिन्छ, जुन घरलाई परम्परागत रूपमा छाउगोठ भनिन्छ।
उद्योग र जिम्मेवारी – महिला उक्त समयमा घरको मुख्य जिम्मेवारीबाट बाहिर रहन्छिन् र कहिलेकाहीं सांस्कृतिक रूपमा उनको सम्मान कम हुने विश्वास गरिन्छ।
सामाजिक र धार्मिक विश्वास – परम्पराका अनुसार, महिनावारी भएको बेला महिलालाई अपवित्र मानिन्छ र त्यस समयमा उनीहरुलाई शारीरिक र धार्मिक गतिविधिहरूबाट टाढा राखिन्छ।
सामाजिक र स्वास्थ्य प्रभावहरू :-
सामाजिक प्रभाव- यो अभ्यासले महिलाहरुको आत्मसम्मान र स्वाधीनता माथि नकारात्मक असर पुर्याउँछ। यसले महिलाहरुको सामाजिक स्थितिलाई कमजोर बनाउँछ र उनीहरुमा विभेदको भावना बढाउँछ।
स्वास्थ्य सम्बन्धी जोखिमहरू- छाउगोठमा बस्ने क्रममा महिलाहरुले आवश्यक स्वच्छता र स्वास्थ्य सेवाबाट वञ्चित हुन्छन्, जसले संक्रमण, ज्वरो, मानसिक तनाव र अन्य स्वास्थ्य समस्या निम्त्याउँछ।
ज्यानको जोखिम- कहिलेकाहीं, अत्यधिक हिंसा, शारीरिक दमन र स्वास्थ्य सेवाको अभावले महिलाहरुको ज्यानसम्म पनि जोखिममा पर्न सक्छ।
सरकार र समाजको प्रयास :-
नेपाल सरकारले र विभिन्न गैरसरकारी संस्थाहरुले यस परम्परालाई अन्त्य गर्न विभिन्न अभियान, शिक्षा, र सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन्। यसले स्थानीय तह र समुदायमा जागरूकता फैलाउने, कानूनी कारबाही गर्न र परम्परालाई परिवर्तन गर्न प्रयास गरिरहेको छ।
देवताको डर :-
महीनावारी भएकी महिला घरमा पसे वा कसैलाई छोए नराम्रो हुने धार्मिक मान्यता छ । सुदुरपश्चिमको अछाम जिल्लमा यो प्रथा निकै नै जरो गाडेर बसेको छ । जहाँ महिनावारी भएको महिला तथा किशोरीहरुलाई खानपान मै समेत रोक लगाईन्छ । दुध दही घिउ खाए देवता रिसाउने र अनर्थ हुने स्थानीयहरुको भनाई छ ।
सुदुरपश्चिमका अधिकांस महिलाहरु महीनावारी हुँदा देवता नरिसाऊन् भनेर घर बाहिर बस्ने गरेको बताउँछन्।

सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाजन्य कुरीति तथा जातीय विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय सुदूरपश्चिम प्रदेश सरकारले गरेको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काका अनुसार २०७६ सालमा ‘छाउपडी प्रथा उन्मूलन सम्बन्धी नीतिु प्रदेश सरकारले पारित गरेका थियो । सोही नीतिअनुसार मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय समन्वय तथा निर्देशक समिति छ । त्यसैगरी, जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षतामा जिल्लामा र स्थानीय तहका प्रमुखको अध्यक्षतामा पालिकास्तरमा समितिहरू छन् । यी सबैको भूमिका तोकिएको मन्त्री खड्काको भनाइ छ ।
मन्त्री खड्काका अनुसार केन्द्रले बनाएको कानुनअनुसार कञ्चनपुर जिल्लामा छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ । प्रदेश सरकारले पनि यसमा सहकार्य गरिरहेको उनको भनाइ छ । मन्त्री खड्काका अनुसार यो कुप्रथाका विरुद्धमा प्रदेश र स्थानीय सरकार मिलेर एउटा बृहत् अभियान नै चलाउनुपर्छ भनेर निर्णय गरेका गरिएको हो । प्रदेशका नीतिअन्तर्गत बनेका समितिहरूलाई परिचालन गर्न र जिल्लास्थित सामाजिक विकास कार्यालयमार्फत सञ्चालित ‘मर्यादित महिनावारी’ जस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाएर अगाडि बढाउन निर्देशन दिइएको मन्त्री खड्काले जानकारी दिए ।
कानूनले रोक्न नसकेको छाउपडी :-
सर्वोच्च अदालतले २०६२ सालमै छाउपडी प्रथालाई कुप्रथा घोषित गर्दै उन्मूलनका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो। त्यसपछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले कुरीतिजन्य प्रथा उन्मूलनका लागि छाउपडी उन्मूलन निर्देशिका, २०६४ जारी गर्यो।
मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ को उपदफा ३ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनी उल्लेख छ। यस्तो कसूर गर्ने व्यक्तिलाई तीन महीनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।
सुदूरपश्चिममा छाउपडी र छाउगोठ कुरीतिले सबैभन्दा बढी प्रभावित जिल्ला अछाम हो । यहाँ लामो समयदेखि छाउपडी प्रथा उन्मूलनका लागि राज्य, संघसंस्था, अधिकारकर्मी र पत्रकारहरू लागिपरेका छन् । यद्यपि अझै पनि समाजको डरले पूर्ण रूपमा समस्याको समाधान हुन सकेको छैन ।
पहिलाको तुलनामा अहिले अवस्था केही सुधार भए पनि अझै २०-३० प्रतिशत महिला छाउगोठमा बस्ने चलन रहेको छ । विकट ठाउँमा यो समस्या झनै गहिरो छ, जहाँ सुत्केरी महिलालाई समेत छाउगोठमा राखिन्छ ।
छाउगोठको पिडा भोग्ने परिवार सचेत :-
छाउगोठमा बसेर घटना घटेका परिवारहरु सचेत भएका छन् । उनीहरुले छाउगोठ भत्काएर घर भित्रै बस्न थालेपछि गाउँका मान्छेहरुले आफ्नो परम्परा तोड्नु राम्रो नहुने टिप्पणी गर्ने गरेका छन् । छाउगोठका कारण परिवारका सदस्य गुमाईसकेकाहरु सचेत भएर यो प्रथाविरुद्ध उभिए पनि समाजका अन्य मानिसहरुले यस्लाई सहजै रुपमा अपनाउन सकेका छैनन्, जस्ले गर्दा सुदुरपश्चिममा अझै पनि महिनावारी भएका बखत महिला तथा किशोरीहरु हिंसा, बलात्कार तथा सर्पदंशको सिकार हुन पुगेका छन् ।

सुदुरपश्चिममा छाउगोठको अभ्यास अझै केही ठाउँहरूमा कायम छ, जसले महिलाहरुको जीवन र स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको छ। यसलाई अन्त्य गर्नका लागि नेपाल सरकार र विभिन्न संस्थाहरुले अभियान, शिक्षा र सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन्। तर, अझै पनि यसलाई पूर्ण रुपमा समाप्त गर्न समय र समाजिक परिवर्तनको आवश्यकता छ।