नेपाल २०८३ मंसिरबाट औपचारिक रूपमा विकासशील राष्ट्रमा स्तरोन्नति हुन्छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्रको श्रेणीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्रिया निश्चित भइसकेको र २०८३ मंसिरसम्ममा यो लक्ष्य पूरा हुने बताएका छन्।
बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले स्तरोन्नतिको यो यात्रा सन् २०१० बाटै योजनाबद्ध रूपमा सुरु भएको र विभिन्न चरणका मूल्यांकन पार गर्दै यहाँसम्म आइपुगेको बताए।
उनले स्तरोन्नतिका लागि आवश्यक प्रतिव्यक्ति आयलगायतका मापदण्ड पूरा भइसकेको दाबी गरे। ‘अहिले हाम्रो प्रतिव्यक्ति आय करिब १४०० डलरको हाराहारीमा छ, त्यसैले यो मापदण्ड पूरा भइसकेको छ। मापदण्ड पूरा हुन्छ भन्ने विश्वासका आधारमा नै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई स्तरोन्नतिको सूचीमा राखेको हो,’ उनले सुनाए।
उनले स्तरोन्नतिको अन्तिम मूल्यांकन कोभिड-१९ को विश्वव्यापी महामारीका बीचमा भएको र त्यस कठिन समयमा पनि नेपालको अर्थतन्त्रले देखाएको ‘प्रतिरोध क्षमता’ लाई विश्वले कदर गरेको बताए।
‘विश्वका ठूला अर्थतन्त्रहरू ऋणात्मक हुँदा पनि नेपालले आफूलाई जोगाउन सक्यो। स्तरोन्नति हुनुअघि हामीले हासिल गरेको ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर र मानव विकासका सूचकांकमा भएको प्रगति नै यसको बलियो आधार हो,’ ओलीले स्पष्ट पारे।
यो स्तरोन्नतिसँगै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ्ने र विकासका नयाँ ढोकाहरू खुल्ने विश्वास व्यक्त गर्दै उनले विक्रम संवत् २०८३ मंसिरमा नेपाल औपचारिक रूपमा विकासशील राष्ट्रमा रूपान्तरित हुने कुरामा ढुक्क हुन आग्रह गरे।