सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गरेका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरिएको आरोपप्रति आपत्ति जनाए। उनले भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने त भन्ने प्रश्नसमेत गरे।
यसअघि बैठकको शुन्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यावाची जस्तै बनेको आरोप लगाएका थिए । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषि स्वयं सरकार भएको आरोप थियो ।
प्रधानमन्त्री ओलीले भने, ‘सरकारले एक-दुई जनालाई कारबाही गर्यो भने सरकार र भ्रष्टाचार पर्यायवाची भन्छन्, छ्यालब्याल रैछ भन्छन्। भ्रष्टाचार गर्नेलाई कारबाही नै नगर्ने त? भ्रष्टाचार गर्न दिइन्न, कसैले गर्यो भने कारबाही हुन्छ। त्यही त गर्ने हो नि। सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ, कहाँको भ्रष्टाचारको पर्याय? गम्भीर विषयमा छलफल हुँदा हामीले पनि त्यही गम्भीरताका साथ लिनुपर्छ भन्ने म ठान्छु।’
उनले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।