इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने संभावना


तेहरान। इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद्’ स्थापना गर्ने तयारी गरिरहेको समाचार एजेन्सीले शुक्रबार जनाएको छ । स्रोतका अनुसार, यस परिषद्को संरचना चाँडै नै अन्तिम रूप दिइनेछ र यसले इरानको रक्षा नीतिसम्बन्धी रणनीतिक कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी पाउनेछ ।
यो निर्णय इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) मा भइरहेका संरचनात्मक सुधारहरू पूरा भए पश्चात् लिइएको हो । इरानका सर्वोच्च नेताका सल्लाहकार तथा पूर्व संसद अध्यक्ष अली लारीजानीलाई सम्भावित रूपमा छिट्टै एसएनएससीको नेतृत्व गर्ने गरी नियुक्त गरिने सम्भावना छ भने हालको सचिव अली अकबर अहमदियनले देशका विशेष तथा रणनीतिक मामिलाहरू सम्हाल्ने अपेक्षा गरिएको छ, जसमा उच्चस्तरीय व्यवस्थापन र समन्वय आवश्यक पर्ने विषयहरू पर्दछन् ।
एसएनएससी सम्बन्धित नौर न्यूजले सामाजिक सञ्जाल एक्समा प्रकाशित एक पोस्टमार्फत् जनाएको छ,“आवश्यक तयारी र संरचनात्मक सुधारहरू पश्चात्, केही उच्चस्तरीय सुरक्षा संस्थामा छिट्टै परिवर्तन हुने सम्भावना बढेको छ ।”