दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ


दक्षिण अफ्रिकाको उत्तरपूर्वी क्षेत्रस्थित सुन खानीहरूमा काम गरिरहेका करिब एक हजार अवैध आप्रवासी मजदुर पक्राउ परेका छन् । म्पुमालांगा प्रान्तको बार्बरटन गाउँनजिकैको खानी क्षेत्रमा एक सातासम्मको ‘अपरेसन’मा ती मजदुर पक्राउ परेका प्रहरीले जनाएको छ ।
खानी क्षेत्र वर्षौंदेखि गोप्य रूपमा अवैध रूपमा सञ्चालन गरिँदै आएको थियो । प्रहरी प्रवक्ता डोनाल्ड म्ड्लुलीले भने, “अझै पनि केही अवैध खानीभित्र मजदुरहरू लुकेका छन् । सतहमा निस्कनासाथ नियन्त्रणमा लिइनेछ ।”
खानी सञ्चालक कम्पनी बार्बरटन माइनसले विगतमा घाटाका कारण कर्मचारी हटाउँदा स्थानीय समुदायमा आक्रोश फैलिएको उनले बताए । तर, पछि भित्रै अवैध रूपमा खानी सञ्चालन गरिँदै आएको थाहा भएपछि कारबाही थालिएको हो ।
प्रहरीले भनेको छ, “खानीभित्र अवैध रूपमा खाद्य र अरू सामग्री पुर्याइँदै आएको थियो । यसलाई रोक्न यो अपरेसन आवश्यक थियो ।”
प्रहरीले हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ । गत वर्ष जोहान्सबर्गनजिकैको स्टिलफोन्टेन क्षेत्रमा गरिएको यस्तै कारबाहीमा ९० अवैध खानी मजदुरको ज्यान गएको थियो ।
योपटक पनि प्रहरीले खानीलाई चारैतिरबाट घेराबन्दी गर्दै भित्र आपूर्ति रोक्ने रणनीति अपनाएको थियो । र, भित्र रहेका मजदुरहरू बाहिर आउन बाध्य भएका थिए ।