`

पार्टी रूपान्तरणको आवश्यकता छ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Nepal One HD २६ साउन २०८२ १९:५०
राजनीति

दोधारा चाँदनी (कञ्चनपुर), २६ साउन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी रूपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ ।

आज महेन्द्रनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले क्रान्तिकारी र शक्तिशाली पार्टी निमार्णका लागि रूपान्तरण आवश्यक रहेको बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी केन्द्रकै नेतृत्वमा सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्ने गरी अगाडि बढ्नुपर्ने भन्दै त्यसका लागि पार्टी रूपान्तरण अपरिहार्य रहेको धारणा राख्नुभयो । “त्यति मात्रै होइन सबै वामपन्थी एकताका लागि निम्ति पनि हाम्रो पार्टी रुपान्तरण हुन जरूरी छ । त्यसपछि मात्रै सामाजिक न्याय, समृद्धि र समाजवादको कार्यभार पूरा हुनेछ”, उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले हाल पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पार्टी रूपान्तरण हुनुपर्ने बताउनुभयो । उहाँले मुलुकको अहिलेको परिस्थितिलाई यथास्थितिमा राख्न नहुने धारणा राख्नुभयो ।

यथास्थितिलाई सकारात्मक ढङ्गबाट हस्तक्षेप गर्न सके समृद्धि र समाजवादको लक्ष्य पूरा हुने दिशातर्फ जान सकिने भन्दै त्यसो हुन नसके मुलुकमा अराजकता र प्रतिगमनको खतरा बढ्नसक्ने श्रेष्ठको भनाइ थियो ।

उहाँले माओवादी केन्द्रले हाल वामपन्थीसँग एकताको प्रस्ताव गरेको र छलफलका लागि वार्ता टोली बनाउन अन्य दलहरूलाई आग्रह गरिएको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *