`

‘युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्’ – विप्लव

Nepal One HD ३१ साउन २०८२ २१:५२
राजनीति

कर्णाली, ३१ साउनः नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा जनशक्तिमा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाइरहेको बताउनुभएको छ ।
अखिल (समाजवादी) र युवा सङ्गठन कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रियामा उहाँले युवा जनशक्तिमा भरिएको निराशाले विदेसिने क्रम बढ्दै गएको बताउनुभयो । महासचिव चन्दले भ्रष्टाचार ‘क्रोनिक’ रोगका रूपमा फैलिँदै जाँदा मुलकको समृद्धि र विकासको बाधक बनेको जिकिर गर्नुभयो ।

“जनताको पुँजी शोषण गर्ने व्यवस्थाका कारण लाखौँ नेपाली जनता ऋण बोकेर सडकमा छन्”, उहाँले भन्नुभयो,“जीवन व्यवहारमा लागू नगरिँदा पछिल्लो समय समाजवादको बहस पनि अरुचिको विषय बन्दै गएको छ । यो चिन्ताको विषय हो ।”

आफ्नो पार्टीले तीन वर्षयता कृषि क्रान्तिबाट आर्थिक समृद्धि ल्याउने र आत्मनिर्भर बनाउने अभियानलाई अगाडि बढाएको बताउँदै महासचिव चन्दले अब उद्योगको थालनी गर्ने योजना सुनाउनुभयो ।

महासचिव चन्दले आफ्नो पालाको युवा गरिबी, अशिक्षा, भोकमरी, सामाजिक असमानता र दमनविरुद्ध विद्रोह गरी आजको व्यवस्था ल्याउन सफल हुँदा आजका युवा पीडा, कुण्ठा पोख्ने, गुनासो गर्ने र पैसाका लागि पलायन हुने सोचबाट ग्रसित हुँदै गएको टिप्पणी गर्नुभयो । आशाको सन्देश प्रवाह गर्न आफ्नो पार्टीले आगामी ०८४ सालको चुनावमा भाग लिने उहाँको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *