संख्या छ भनेर जे पनि निर्णय गर्न पाइन्न: गगन थापा


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा आइपरेको चुनौती कांग्रेसले मात्रै समाधान गर्नसक्ने दाबी गरेका छन्।
प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय शक्ति भएपछि चुनावलाई महत्त्वपूर्ण मान्नु पनि स्वाभाविक रूपमा लिनुपर्ने बताए।
उनले भने, ‘चुनाव जित्ने आकाङ्क्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ। तर, सबै कुरा त्यो होइन। सत्तामा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन। कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ। त्यो सँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन।’
उनले लोकतन्त्रमा संख्याको आधारमा निर्णय गर्न पाइने बताए।
उनले थपे, ‘तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन। संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ। संसद्मा होस् वा पार्टीमा। पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरेपनि आम पार्टी पंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ। सबैले स्वीकारे मात्रै वैध हुन्छ।’
कांग्रेसले विगतमा गरेका निर्णय वैधानिक र वैध रहेको पनि उनले बताए।
पछिल्लो समय नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुख ईन्दिरा राना मगरमाथि आचरण प्रश्न उठाउँदै दुई तिहाइ पुर्याएर पदमुक्त गर्ने तयारी गरिरहेका छन्।