राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेकी सुआन राष्ट्रपति पौडेललाई भेट्न सोमवार बिहान शीतल निवास पुगेकी हुन्।
सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए।
“यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक छ”, भेटवार्तामा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत जस्ता क्षेत्रहरुमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताएका थिए।
आन्ह सुआनले विशेषतः बौद्ध धर्म हाम्रा दुवै देशका जनताबीचको गहिरो सम्बन्धका लागि सेतुको रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नु खुशीको विषय भएको पनि बताइन्।
सो अवसरमा भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले नेपालले सन २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको तथा भियतनामले सन २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरेको सन्दर्भमा सन् २०३० भन्दा अघि नै दुई देश बीच वृहत सम्बन्धको फ्रेम वर्क बनाउन जरुरी भएको उल्लेख गर्नुभएको उनको भनाई उद्यृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।
नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन्। सुआन भ्रमण सम्पन्न गरी सोमवार नै स्वदेश फिर्ता हुने तालिका छ।