वीरगञ्जमा हैजाको त्रास, ९३ मा संक्रमण पुष्टि


वीरगञ्ज । ‘पानी पिउँदा त केही होला जस्तो लागेन, तर अचानक पखाला सुरु भयो,’ वीरगञ्ज–१२ का एक बिरामीको भनाइ हो । यस्तै समस्या लिएर नारायणी अस्पताल पुगेका उनी मात्रै होइनन्, अहिलेसम्म विभिन्न अस्पतालमा ९३ जनामा हैजा पुष्टि भइसकेको छ ।
सबैभन्दा बढी संक्रमित भेटिएको नारायणी अस्पताल र तराई अस्पताल दुबैको तथ्याङ्क डर लाग्दो छ–यहाँ मात्र ३२–३२ बिरामीमा हैजा देखिएको छ ।
यसपछि नेशनल मेडिकल कलेजमा १२ जना, जबकी भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जनामा संक्रमण भेटिएको छ ।
अली अर्था अस्पतालमा दुईजना र अन्य निजी अस्पतालहरू–नारायणी सेन्ट्रल, एडभान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, मेडिसिटी वायोधा र सर्वोत्तममा १–१ जना संक्रमित छन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार हैजाको मुख्य कारण प्रदूषित पानी र सरसफाइको कमी हो । स्थानीय बासिन्दा त्रसित छन् भने महानगर र स्वास्थ्य निकायले एकतर्फ औषधि वितरणलाई तीव्रता दिएका छन्, अर्कोतर्फ स्वच्छ पानी र सरसफाइलाई प्रमुख प्राथमिकता दिनुपर्ने आवाज उठेको छ ।