ऊर्जामन्त्री खड्कासँग दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट


काठमाडौँ, १० भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताई योङबीच शिष्टाचार भेट भएको छ ।
ऊर्जा मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय सहकार्यका विविध विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म कोरियामा हुन लागेको ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेसन कन्फरेन्स (जिआइसिसी) २०२५ को तयारीसम्बन्धी विषयमा समेत छलफल भएको थियो ।
सो अवसरमा राजदूत योङले कन्फरेन्समा हालसम्म ३५ देशले सहभागिता जनाउने गरिसकेको जानकारी दिनुभएको थियो । उक्त कन्फरेन्समा नेपालका ऊर्जा परियोजनाहरूलाई अन्तरराष्ट्रियजगत्मा प्रस्तुत गर्न यसलाई महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा अपर त्रिशूली–१ जलविद्युत् आयोजना र प्रसारण लाइन आयोजनासहित नेपालमा कोरियाली सहयोगमा अघि बढिरहेका विभिन्न परियोजनाका बारेमा समेत छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री खड्काले नेपालमा भइरहेको कोरियाली सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै प्रसारण लाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा भइरहेको सहकार्यलाई सकारात्मक मोडमा अघि बढाइरहन प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा अझ बढी कोरियाली लगानी आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो ।