प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुन्छ : मन्त्री पौडेल


दमौली (तनहुँ), १० भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको ३०० क्षमताको अस्पताल भवन निर्माणका लागि सम्झौता हुने बताउनुभएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा आजदेखि सुरु भएको ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ प्रणालीको शुभारम्भ गर्नुहुँदै मन्त्री पौडेलले अस्पताललाई ३०० शय्या क्षमतामा विस्तार गरिने र त्यसका लागि भारत सरकारसँग सम्झौता हुने बताउनुभयो ।
अस्पतालको स्तरोन्नतिका लागि यसअघि नै भारत सरकारले सहमति जनाइसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा यस सम्बन्धमा सम्झौता भएर निर्माणको प्रक्रिया सुरु हुने मन्त्री पौडेलले बताउनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, “अस्पतालको डिपिआर अनुसार रु ६०० करोडको लागत स्वीकृत भएर भारतको स्वास्थ्य मन्त्रालयमा गइसकेको छ । हामीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौँ ।” उहाँले अस्पताल स्तरोन्नतिको प्रक्रिया लाग्ने भएकाले त्यस अवधिसम्म जनरल हस्पिटल राम्रोसँग चलाउनुपर्ने बताउनुभयो ।
अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।
मन्त्री पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई जनताको आकर्षणको केन्द्र बनाउन सकिने र यसका लागि तीन तहकै सरकारको यसमा सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्घ सरकार मातहत रहेको यस अस्पताललाई प्रदेश र स्थानीय सरकारको पनि सहयोगको खाँचो छ ।”
मन्त्री पौडेलले अस्पतालमा एमडिजिपी डाक्टर पढाउने व्यवस्था गरिने बताउँदै त्यसका लागि कम्तीमा ७०० बिरामी अस्पताल आउने अवस्था हुनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बीमालाई व्यवस्थित बनाइने बताउँदै बजेट अभावका कारण स्वास्थ्य बीमाको भुक्तानी दिन समस्या भइरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले जिपी कोइराला अस्पताल तनहुँको मात्रै नभई राष्ट्रकै गौरव रहेको बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश साम्बाजिराब पाण्डवले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अस्पतालमा उक्त प्रणालीको गत जेठ १४ गते अभ्यास गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले यो प्रणाली सुरु भएसँगै टिकटिङ, बिलिङ, रिपोर्ट, औषधिलगायतको विवरण अनलाइन प्रणालीमार्फत जानकारी लिन सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले अब बिरामीको विगतदेखि वर्तमानसम्मका सबै विवरण सजिलै हेर्न सकिनेछ । एक्स–रे रिपोर्ट प्रिन्ट गर्नुपर्दैन । एक्स–रे र प्रयोगशालाको रिपोर्ट सिधै चिकित्सकले हेर्न सहज हुनेछ ।”
यो प्रणाली सुरु भएसँगै टिकट काउन्टर, ल्याबमा कामको भार धेरै नै कम भएको उहाँको भनाइ छ । यस प्रणालीबाट बिरामीको उपचारमा कम त्रुटि हुने र स्वास्थ्यकर्मीको समय कागजी कामभन्दा उपचारमा बढी केन्द्रित हुने, नीति योजना र अनुसन्धानमा मद्दत पुग्ने विश्वास गरिएको डा श्रेष्ठले बताउनुभयो ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रका नाममा प्रदान भइसकेको छ ।
अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।