`

अबदेखि मन्त्रालयमा पुग्ने फाइल सातदिन भित्र टुङ्गो लगाउन मुख्यमन्त्री कार्कीको निर्देशन

Nepal One HD १६ भदौ २०८२ ६:४४
राजनीति

मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल सात दिनभित्र टुङ्गो लगाउन निर्देशन दिनुभएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रमलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले अबदेखि सात दिनभित्र मन्त्रालयमा पुगेका राय, परामर्श र अन्य सबै खाले फाइल टुङ्गो लगाउन निर्देशन दिनुभयो । उहाँले सात दिनभित्र फाइल किनारा लगाउन नसक्ने भए के कारणले लागेन भन्ने कारणसहित सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फाइल अड्काउने प्रवृत्ति राम्रो होइन, यसमा सुधार होस् ।”

मुख्यमन्त्री कार्कीले बेरुजु फछ्र्यौटमा पनि कडा रुपमा प्रस्तुत हुन निर्देशन दिनुभयो । उहाँले लिखित रूपमा बेरुजु फछ्र्यौटका लागि अनुरोध गर्ने त्यसो नभए कानुनी प्रक्रिया अपनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । नीतिगत बेरुजु र असुलउपर गर्नुपर्ने बेरुजु छुट्याएर पुस मसान्तभित्र किनारा लगाउन उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले नीतिगत र प्रशासनिक कामलाई छिटो र छरितो बनाउनुपर्ने बताउनुभयो । उहाँले गुनासो सुनवाई शत्प्रतिशत र प्रशासनिक कामलाई जनताले देखिनेगरी छिटोछरितो ढङ्गले टुङ्ग्याउन निर्देशन दिनुभयो ।

कोशी प्रदेश सरकारले प्रदेशको आर्थिक समृद्धिका लागि सुरु गरेको उदय परियोजना, ब्याज अनुदान कार्यक्रम, पर्यटन वर्ष, पदमार्गमा आधारित पर्यटन विकास र लगानी सम्मेलनमार्फत आएका परियोजनाहरूलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेशले अगाडि बढाएका महत्वपूर्ण योजनाहरुलाई प्राथमिकता दिएर काम गर्नुहोस् ।”

कोशी प्रदेश सरकारका प्रमुख सचिव चन्द्रकला पौडेलले बेरुजु फछर्यौट र ‘ओएनएम सर्वे’का काम साथै राजस्व कानुनलगायत विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । नीति तथा कार्यक्रम समीक्षामा प्रदेश सरकारका मन्त्री, सचिव र मन्त्रालयका महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *