कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन


काठमाडौं । काठमाडौं कालिमाटीमा हिजो प्रहरीले चलाएको गोली लागेर घाइते थप एक व्यक्तिको पनि मृत्यु भएको छ । गोली लागेर घाइते उदयपुरका ३० वर्षीय देवकुमार सुवेदीको आज (बुधबार) उपचारका क्रममा निधन भएको हो । गोली लागेका उनलाई तत्काल बयोदा अस्पताल लगिएको थियो ।
जेनजीको प्रदर्शनका क्रममा हिजो दिउँसो २ बजेतिर प्रहरीले चलाएको गोली सुवेदीको पेटमा लागेको थियो । सुवेदीको गोली लागेर पेट च्यातिँदै आन्द्रा बाहिर निस्किएको थियो । सुवेदीलाई अस्पताल पुर्याउँदा नै धेरै रगत बगेको उनका जेठान मनिष बास्तोलाले जानकारी दिए । सुवेदीको घरमा श्रीमती र आठ बर्षीया छोरी छिन् । यस्तै ८७ वर्षका बुबा र ७२ वर्षकी आमा छन् । अहिले परिवारका सबैमा बज्रपात आइपरेको छ ।
हिजो प्रहरीको गोली लागेर कालिमाटी पुल नजिकै तीन जना घाइते भएका थिए । तीमध्ये अर्जुन भट्ट र दिपक साउदको हिजो राति नै निधन भइसकेको अस्पतालले जनाएको छ । अन्य दुई जनामध्ये अर्जुनको अस्पताल पुर्याउँदा नै डाक्टरले मृत घोषणा गरेका थिए । दिपकलाई थप उपचारका लागि वीर अस्पताल पठाइएको थियो । उनको त्यही निधन भएको हो ।
हिजोको जेनजी आन्दोलनका क्रममा कालिमाटी क्षेत्रमा रहेका प्रदर्शनकारीहरूले कालिमाटी प्रहरी वृत्तमा आगजानी गरेका थिए । त्यही क्रममा प्रहरीले गोली चलाउँदा विभिन्न व्यक्तिहरू घाइते भएको थिए ।