`

कहाँ रोकियो अन्तरिम सरकार गठन प्रक्रिया ?

Nepal One HD २७ भदौ २०८२ १२:४७
प्रमुख खबर

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा आज (शुक्रबार) छलफलमा बिलम्ब भएको छ । बिहान ९ वजेदेखि सुरु हुने भनिएको छलफल अहिलेसम्म सुरु हुन सकेको छैन ।कार्कीसँगै केही दिनदेखि परामर्श र वार्तामा रहेका ओमप्रकाश अर्यालले सुरुमा राष्ट्रपतिका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता बाबुराम कुँवरसँग बैठक हुने अनि त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्कीको निर्णायक कुराकानी हुने बताए ।

उनका अनुसार यसमा कुरा मिले सम्भवतः आजै कार्कीले अन्तरिम सरकारको मन्त्रिपरिषदको अध्यक्षको रूपमा जिम्मेवारीको शपथ लिन सक्ने छिन् । अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल चलिरहेको बताइएको छ। ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि त्यसको कानूनी विकल्प खोज्न बैठक बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्ने भएको हो ।

अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुट्न सकेको छैन । काठमाडौंका मेयर बालेन्द्र शाह र जेनजीले संसद विघटनलाई बटमलाइन बनाएका छन् । तर, राष्ट्रपति सहमत नभएपछि यसमै हलो अड्किएको स्रोतहरूको भनाइ छ । बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने निर्क्याैल भएको छैन । संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र संसद विघटनका लागि पनि कानूनी आधार नदेखिएकाले अन्योल भएको हो ।

राष्ट्रपति पौडेलले प्रधान सेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानूनविद् र राजनीतिका दलका नेतासँग हिजो छलफल गरिसकेका छन् । कार्कीलाई प्रधानमन्त्री स्वीकार्न दलहरु पनि तयार देखिएका छन्, तर संसद विघटनमा तयार छैनन् । उनीहरूले संसदीय प्रक्रियाबाट कार्कीलाई प्रधानमन्त्री बनाउने उपाय खोज्न सुझाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरूको उपस्थितिमा बिहीबार दिनभर र रातभर छलफल गरेका थिए । सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न सकेको थिएन । जेन जीका तर्फबाट विघटन गर्ने तर्क अघि सारिएको थियो, तर संविधान अनुसार विकल्प खोज्न संसद पनि जीवित हुनुपर्ने कुरा उठेपछि त्यसका केही कुराकानी भइरहेको छ । त्यसैले आज बिहान ११ बजेबाट पुनः छलफल सुरु हुन लागेको हो । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सर्वपक्षीय सहमति जुटिसकेको छ। अझ केही प्रक्रियागत कुरा र कसरी अघि बढ्ने भन्ने कुरा टुङ्गाउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *