संसद विघटन प्राप्त उपलब्धि समाप्त पार्ने षडयन्त्र, गम्भीर असहमति छ : माओवादी


काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद विघटन प्राप्त उपलब्धि समाप्त पार्ने खेल भएको आरोप लगाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएका छन् ।
पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए। अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले यो गम्भिर षडयन्त्र भएको भन्दै पार्टी संसद विघटनको विपक्षमा उभिने बताए । ‘प्रतिनिधि सभा विघटन गर्नु लोकतन्त्रप्रतिको गम्भीर आघात हो । पार्टीले यसको विरोध गर्नेछ । प्रतिनिधि सभा विघटनले राज्यलाई अस्थिरतातर्फ र प्राप्त उपलब्धिको समाप्ति गर्नेतिर षड्यन्त्र भएको हुँदा पार्टी त्यसको विरोधमा उत्रिने छ,’ उनले भने ।
‘जननिर्वाचित सर्वोच्च संस्था विघटन गर्नु लोकतन्त्रप्रतिको गम्भीर आघात हो । लोकतन्त्रमा जनताको सार्वभौम मतको अभिव्यक्ति हुनुपर्छ । पछिल्लो पटक प्रकट भएको जनमतको आधारमा बनेको प्रतिनिधि संस्था विघटन हुनु भनेको राज्यलाई अस्थिरतातिर, प्राप्त उपलब्धिहरुको समाप्ति गर्नेतिर गम्भीर षड्यन्त्र भएको हुँदा त्यसको विपक्षमा, विरोधमा नेकपा(माओवादी केन्द्र) पदाधिकारी बैठकले निर्णय गरेर उभिने र सम्पूर्ण जनतालाई अपील गर्ने भएको छ,’ उनले भने ।