चुनाव भएपछि संविधान क्रियाशील हुनेछ : मीनेन्द्र रिजाल


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रतिनिधि सभाको निर्वाचन भएपछि संविधान फेरि पूर्णरूपमा क्रियाशील हुने बताएका छन् ।
नव नियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संसद् विघटन गर्दै फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा गरेका छन् । प्रमुख राजनीतिक दलहरूले यसलाई असंवैधानिक भन्दै संविधानप्रति चिन्ता प्रकट गरिरहेका छन् ।
तर तिनैमध्ये एक कांग्रेसका नेता रिजालले भने राष्ट्रपतिको निर्णयले मुलुकले त्राण पाएको बताउँदै अब चुनाव गराउन सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।
‘राष्ट्रपतिको निर्णयबाट मुलुकले त्राण पाएको छ । प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमा सुनिश्चित गर्न सहयोग पुर्याउनु हामी सबैको कर्तव्य हो । निर्वाचन सम्पन्न भएसँगै चार पुस्ताको संघर्षबाट निर्माण भएको संविधान फेरि पूर्णरूपमा क्रियाशील हुनेछ’, रिजालले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।