निर्वाचनबाट ‘भेंडा प्रतिनिधि’ छान्न बन्द गरौं : मुकुल ढकाल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले वर्तमान निर्वाचन प्रणालीको आलोचना गर्दै यसले वास्तविक जनप्रतिनिधि नभई ‘भेंडा प्रतिनिधि’ मात्र उत्पादन गरिरहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत उनले प्रजातन्त्रको मूल मर्म ‘जनताको, जनताद्वारा, जनताका लागि’ शासन भए पनि हालको निर्वाचन प्रणालीले ‘भेंडाले, भेंडाद्वारा, भेंडाका लागि’ गरिने ‘भेंडातन्त्र’ लाई मात्र प्रोत्साहन गरेको बताएका छन् । ढकालले आउँदो चुनावबाट पनि सच्चा जनप्रतिनिधि छान्न नसकिने दाबी गर्दै निर्वाचन प्रणाली दोषपूर्ण रहेको बताएका छन् ।
भेंडाको नेता सधैं भेँडा नै हुने र मान्छे हुन नसक्ने भन्दै निर्वाचन प्रणालीले जनताको होइन, भेंडाको चुनाव गराएको उनको जिकिर छ । ढकालका अनुसार जनताले चलाएको देशमा विकास, शान्ति, सुशासन, न्याय र स्वतन्त्रता हुन्छ, तर भेंडाले चलाएको देशमा ध्वंस, अशान्ति, कुशासन, भ्रष्टाचार र अपराध मात्र हुन्छ ।
त्यसैले ‘भेंडातन्त्र’ को अन्त्य गरी जनताको शासन स्थापना गर्न तत्काल निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘साँचो जनप्रतिनिधि छान्न निर्वाचन प्रणाली बदल्नु पर्छ र भेंडाको शासन अन्त्य गरी जनताको शासन स्थापना गर्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।