`

चाक्सिबारीमा देउवा निकट पाँच पूर्व पदाधिकारीको छलफल, गच्छदार र श्रेष्ठ अनुपस्थित

Nepal One HD ५ असोज २०८२ १३:०१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरू छलफलमा जुटेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आइतबार मध्याह्न उनीहरू छलफलमा जुटेका हुन् । छलफलमा पूर्व महामन्त्री सिंह, पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत छन् ।

बदलिँदो राजनीतिक घटनाका विषयमा उनीहरूबीच छलफल भएको छ । सात पूर्व पदाधिकारी समूहको बैठकमा आज विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए । आजै बिहान पत्रकार सम्मेलन गरी प्रवक्ता महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । महामन्त्रीद्वयले पार्टी रूपान्तरण गरिछाड्ने बताएका थिए ।

तर प्रवक्ता महतले सभापति देउवा भदौ २४ गते घरमै प्रदर्शनकारीको आक्रमणबाट घाइते भएर अस्पतालमा उपचार गराइरहेको बेला घाउमा चुनचुक छर्ने काम गर्न नहुने बताएका थिए । सिंहलगायत पूर्व पदाधिकारीहरू लामो समयदेखि छलफल गर्दै एजेण्डा तय गर्दै अघि बढ्दै आएका थिए । उनीहरू सबै सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । बैठकले अहिलेको विषम परिस्थितिमा कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिने निर्णय भएको छ । अहिलेको संकटबाट निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने ठहर बैठकले गरेको नेताहरुले बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *