जेनजी आन्दोलनले ध्वस्त पारेको निजी क्षेत्र, अर्बौँ लगानीका संरचनादेखि व्यवसायीक घरानाहरूमा तोडफोड


काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले निजी क्षेत्रमा ठुलो धक्का लागेको छ । आन्दोलनबाट निजी क्षेत्रको संरचनादेखि व्यवसायी घरानामा पनि आक्रमण भएको छ । निजी क्षेत्रमा आन्दोलनबाट भएको क्षति पूरा विवरण समेत आउन सकेको छैन । उद्योग वाणिज्य महासङ्घले जिल्लाभरिबाट निजी क्षेत्रमा भएको विवरण सङ्कलन गरिरहेको छ ।
असोज ५ गतेसम्म बिमा कम्पनीहरूमा २२ अर्ब २५ करोडको क्षति दाबी भएको नेपाल बिमा प्राधिकरणले जनाएको छ । तर, अझै कयौँ स्थानहरूमा क्षतिको विवरण नै सङ्कलन गर्न सकिएको छैन । जेनजी आन्दोलनले व्यापार व्यवसायमा ठुलो क्षति पुर् याएको छ ।
आन्दोलनका क्रममा निजी क्षेत्रका संरचनादेखि व्यक्तिगत घरसम्म तोडफोड र आगजनी गरिएको छ । नेपालको प्रतिष्ठित व्यापारिक घराना शङ्कर समूहको साढे ८ अर्ब लगानी रहेको हिल्टन होटल तोडफोड र आगजनीबाट पूर्णरुपमा ध्वस्त पारिएको छ । काठमाडौंको बिचमा रहेको अन्तर्राष्ट्रिय चेन होटल आगजनीका साथै त्यस दिन देशभरका दुई दर्जन होटलहरुमा तोडफोड तथा आगजनी गरिएको । जसको प्रारम्भिक क्षति करिब २५ अर्ब बढीको निकालिएको छ । काठमाडौं उपत्यकाबाहेक पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्ड चेनमा खुलेका होटलमा तोडफोड, आगजनी, लुटपाट गरिएको छ ।
नेपालका ठुला व्यवसायी उपेन्द्र महतोको निजी आवासमा समेत लुटपाट तथा तोडफोड र आगजनी गरिएको छ । यसका साथै अर्का ठुला व्यवसायी पवन गोल्यानको बानेश्वर हाइटमा रहेको गोल्यान टावरमा पनि तोडफोड र आगजनी गरिएको छ । नेपालका अर्ब पति तथा सांसद विनोद चौधरीको घर र व्यवसायमा आगजनी तथा तोडफोड गरिएको छ । काठमाडौंको सतुंगत स्थित चौधरी ग्रुुपको ’सिजी इलेक्ट्रोनिक्स डिजिटल पार्क’ पूर्ण ध्वस्त बनेको छ । जहाँ सिजी, एलजीलगायत ब्रान्डका सामानहरू उत्पादन हुँदै आएको थियो । यसका साथै सिजीको थापाथली र रवि भवनमा रहेको गाडी शोरुममा समेत आगजनी गरिएको छ ।
काठमाडौंको थापाथली मै रहेको टाटा मोटर्स, सुजुकी र हुण्डाईको शोरुमहरुमा समेत तोडफोड र आगजनी गरिएको छ । जहाँ अर्बैको क्षति भएको आकलन गरिएको छ । यद्यपि आधिकारिक क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।काठमाडौंको लयनचौंर स्थित अर्बौँको लगानी रहेको टेलिकम कम्पनी एनसेलको मुख्य कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ । आन्दोलनका क्रममा एनसेलको मुख्य कार्यालयमा आक्रमण भएको थियो ।
नेपालका अर्का व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष शेखर गोल्छाको निजी निवासमा समेत तोडफोड र आगजनी गरिएको छ । सितापाइला स्थित गोल्छाको घर तोडफोड तथा आगजनी गरिएको थियो । गोल्छाले आफ्नो ब्यत्तिगत घरमा भएको क्षतिको कुनै हिसाब नहुने बताएका छन् । उनले आफ्नो दुःख सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।
नेपालका अर्का चर्चित व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको चन्द्रागिरि केबुलकार र मौलाकाली केबुलकारको कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ ।
व्यवसायी तथा नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाको ब्यत्तिगत घर र गाडीको शेरुममा समेत आगजनी तथा तोडफोड गरिएको छ । पोखरामा रहेको थापाको घरमा आगजनी गर्दा घर पूर्णरुपमा नष्ट भएको छ । यसका साथै उनको गाडीको शेरुममा पनि आगजनी र तोडफोड गरिएको छ । अहिले थापा घरबिहिन भएका छन् ।
नेपालभर ठुलो सुपर मार्केटको सञ्जाल रहेको भाटभटेनीमा आगजनी, तोडफोड, चोरी तथा लुटपाट भएको छ । भटभटेनीकै विभिन्न १२ वटा ब्रान्चहरू पूर्ण रूपमा नष्ट भएको भाटभटेनीले जनाएको छ । अर्बैको क्षति भएको आकलन गरिएको भाटभटेनीमा अहिले क्षतिको विवरण सङ्कलन भइरहेको छ । थापाथली स्थित सेन्ट्रल बिजनेस पार्क, तीनकुने स्थित कान्तिपुर कम्प्लेक्स र विभिन्न स्थानमा रहेका ठुला व्यापारीक संरचनाहरूमा आगजनी र लुटपाट गरेको छ । जहाँ अर्बैको क्षति भएको आकालन गरिएको छ ।