विशेष महाधिवेशन माग्दै कांग्रेसमा शेखर–गगन समूहले थाल्यो हस्ताक्षर अभियान


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अध्ययन गर्दै महामन्त्री गगनकुमार थापा र डा. शेखर कोइराला समूहका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका हुन् ।
सोमबार काठमाडौँमा भएको एउटा बैठकपछि सयभन्दा धेरै जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरी अन्यलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा गर्दै प्रतिनिधिहरूले विगतका गल्तीहरूप्रति क्षमा माग्न र सुधारिएर भविष्य बनाउनका लागि विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।
अहिलेको अवस्थामा विशेष महाधिवेशन बोलाउने केन्द्रीय समितिको दायित्व भए पनि त्यो सम्भावना नभएकाले प्रतिनिधिहरू नै यसको तयारीमा लागेको बताइएको छ । पार्टीलाई अहिलेको दुरावस्थाबाट निकालेर समयसापेक्ष प्रभावकारी बनाउन जिम्मेवारीबोध गरी विधानको धारा १७ २ अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह पनि गरिएको छ ।
कांग्रेसले १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधिको रहेको उल्लेख गरेको छ । पार्टीको विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने जनाएको छ ।