भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै चर्कियो प्रदर्शन


काठमाडौं । भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै प्रदर्शन चर्किएको छ । लद्दाखलाई स्वायत्त राज्य कायम गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा कम्तीमा चार जनाको मृत्यु भएको इन्डिया टूडेले उल्लेख गरेको छ । घटनामा कम्तीमा ७० जना घाइते भएका समाचारमा उल्लेख छ ।
झडपपछि आक्रोशित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाका छन् ।
प्रदर्शनकारीले बुधबार लेह लद्दाखमा रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीले एउटा गाडीमा समेत आगजनी गरेको अधिकारीहरूलाई बताएका छन् । हिंसा नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र लाठिचार्ज गरेको थियो ।
हिंसा चर्किएपछि जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले केन्द्र सरकारले अगाडि बढेर जम्मू कश्मीरका जनताको असन्तोषको कारण पत्ता लगाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।