गगन र विश्वप्रकाशको एकमत : मंसिरमा नियमित महाधिवेशन, नभए विशेष महाधिवेशन


काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन बोलाउन केन्द्रीय प्रतिनिधिहरुको हस्ताक्षर अभियानले हलचल पैदा भइरहेका बेला दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी नेतृत्वले अठोट गरेमा मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने विकल्प अघि सारेका छन् । नियमित महाधिवेशनका लागि क्रियाशील सदस्यताको नवीकरण र नयाँ सदस्यता वितरणका काम बाँकी नै रहेका बेला विधानका प्रक्रिया निलम्बन गरेर नियमित महाधिवेशन गर्न सकिने विकल्प उनीहरूले देखाएका हुन् ।
आउँदो मंसिर मसान्तबाट सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको चार वर्षको कार्यकाल सकिँदैछ । केन्द्रीय कार्यसमितिको म्याद नबढाई नियमित महाधिवेशनमा जाने निर्णय केन्द्रीय कार्यसमितिबाट भएमा विशेष महाधिवेशनमा जान नपर्ने तर्क उनीहरुको छ । तर, सभापति तयार नभएकाले विशेष महाधिवेशनको विकल्प अघि बढाउनु परेको उनीहरुको भनाइ छ । नेता शेखर कोइरालाले पनि नियमित महाधिवेशनकै लागि जोड दिँदै आएका छन् ।
पछिल्लो समय आ–आफ्नो समूह निर्माण गरेर अघि बढेका शेखर र गगनबीच विकसित घट्नाक्रमपछि पार्टी रुपान्तरणको दिशामा मिलेरै अघि बढ्ने विषयमा बुधबार लामो छलफल समेत भयो। थापाले नियमित महाधिवेशन चाँडै गराउन अनलाइनबाट सदस्यता भर्न पाउने गरी खुला गरेर प्रत्यक्ष केन्द्रीय नेतृत्व चयन गर्न सकिने विकल्प हुन सक्ने भनेका छन् । ‘विधानका धाराहरू निलम्बन गरेरपनि मंसिरभित्र नियमित महाधिवेशन गर्न नसकिने होइन, गर्न सकिन्छ । हाम्रो (दुई महामन्त्री) पहिलो प्राथमिकता यसैमा हो,’ थापाले भने, ‘भाद्र २३ र २४ अगाडि र पछिको नेपाल अब एउटै होइन । त्यसअघि हामीले जे–जे गरेका थियौं, त्यसरी नै अघि बढ्ने सुविधा हामीसँग छैन । पार्टीको नेतृत्व र नीतिमानै हामीले ऐतिहासिक फैसला गर्ने बेला आएको छ । त्यो संकल्प र विश्वास महाधिवेशनबाट सिर्जना गर्नुपर्दछ ।’
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्न नसकिए मात्रै विशेष महाधिवेशनमा जाने कुरा आफूहरुले उठाएको स्पष्ट पारेका छन् । नियमित महाधिवेशनको नाममा मंसिर कटाउन नहुने दुई महामन्त्रीकै एउटै स्वर छ । ‘विधानको धारा १७ (२) बमोजिम केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सकिने प्रक्रियामा हामी लाग्नेछौं, त्यो हाम्रो जिम्मेवारी हो,’ शर्माले भने,‘तर केन्द्रीय समितिले त्यो निर्णय नगर्ला कि भनेर ४० प्रतिशत हस्ताक्षर जुटाउनतर्फ महाधिवेशन प्रतिनिधिहरू लाग्नुहुनेछ भने त्यसलाई कसैले पनि नकारात्मक रुपमा लिन मिल्दैन ।’
शर्माले माथिको निर्णयले होस् या तलको दबावले अब नयाँ पार्टीभित्र तत्काल नयाँ नेतृत्व आवश्यक रहेको बताए । पार्टीको विधानको १७ (२) अनुसार बिषम परिस्थितिमा पार्टी केन्द्रीय कार्यसमिति आफैँले विशेष महाधिवेशन बोलाउन सक्छ। २०१४ सालमा केन्द्रीय कार्यसमितिकै निर्णयबाट विशेष महाधिवेशन बोलाएर सुवर्ण शमसेर राणाको ठाउँमा वीपी कोइराला सभापति भएका थिए ।
पार्टी केन्द्रीय कार्यसमितिमा पार्टी सभापति देउवाको दुई तिहाई समर्थन प्राप्त छ । त्यहाँ महामन्त्रीको भन्दा पार्टी सभापतिले चाहेको प्रस्ताव मात्रै पारित हुने भएकाले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन थालिएको महामन्त्री निकट एक पदाधिकारीले बताए ।
‘पार्टी सभापति तत्कालै विशेष वा नियमित महाविधेशनमा जाने पक्षमा हुनुहुन्न । उपचारकै क्रममा रहनु भएका पार्टी सभापति र पूर्व परराष्ट्रमन्त्रीले टेलिफोनबाट विशेष महाधिवेशनका लागि ४० प्रतिशत हस्ताक्षर पुग्न नदिन आफू निकट नेताहरुमार्फत पहल गर्नु भएको छ’ ती पदाधिकारीले भने, ‘केन्द्रीय कार्यसमितिले नियमति महाधिवेशन बोलाउला भन्ने विश्वास नभएकालेनै हस्ताक्षर संकलन थालिएको हो ।’
केन्द्रीय प्रतिनिधिहरुको हस्ताक्षरबाट विशेष महाधिवेशनको माग भएमा पार्टी सभापतिले तीन महिनाभित्र बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । हस्ताक्षरबाट विशेष महाधिवेशन बोलाउँदापनि मंसिर÷पुसमा जाने, नियमित महाधिवेशन गर्दा मंसिरभित्रै गर्नुपर्ने हुन्छ । दुई विकल्प मध्ये जुनमा गएपनि एउटै समयमा पर्ने भएकाले दुई महामन्त्री र नेता कोइरालाले एउटै स्वरमा मंसिरमै नियमित महाधिवेशनलाई प्राथमिकता दिएका छन् ।