देउवा दम्पतीमाथि सरकारले बढायो निगरानी


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाले नयाँ राहदानी बनाएको खुलेपछि सरकारले कडा निगरानी बढाएको छ । उनीहरूको पासपोर्टमा थाइल्यान्ड भिसा समेत लागेको खुलेको छ । देउवा र आरजुले यही असोज ३ गते, शुक्रबार नयाँ पासपोर्ट (राहदानी) निकालेको पाइएको छ ।
उनीहरूले नयाँ पासपोर्ट बनाएको सूचना सरकारले केही दिन अगाडि नै पाइसकेको एक उच्च स्रोतले जनायो । स्रोतका अनुसार उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा पनि लागिसकेको छ । भदौ २४ मा बुढानीलकण्ठस्थित देउवा निवासमा तोडफोड र आगजनी हुँदा पुरानो पासपोर्ट हराएको अनुमान गरिएको थियो । सम्पत्ति शुद्धीकरण विभाग, सिआइबी र राहदानी विभागले पासपोर्ट रोक्का गर्नेबारे छलफल गरिरहेका छन् ।
देउवा दम्पती उपचारका लागि वा अरू कुनै कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क पनि गराएको थियो । राहदानी ऐनअनुसार भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण अनुसन्धानमा संलग्न व्यक्तिको राहदानी रोक्का गर्न सकिने व्यवस्था छ । यसअघि देउवा निवासमा बरामद रकमबारे विभागले मुचुल्का उठाइसकेको छ । पूर्व ऊर्जामन्त्री दीपक खड्काको घरबाट प्रदर्शनकारीले पैसा फाल्दै गरेको भिडिओ पनि सार्वजनिक भएको थियो । यसपछि विभागको टोली त्यहाँ पनि मुचुल्का उठाउन पुगेको थियो ।